काठमाडौं । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आएको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले जनताले मतपत्रमार्फत दिएको अस्वीकारको सन्देशलाई गम्भीर रूपमा लिन आवश्यक रहेको उल्लेख गरेका छन्। उनका अनुसार अहिलेको परिस्थितिमा पार्टीको संरचना र सञ्चालन शैली पुनः व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ।
पाण्डेले मतपरिणामलाई ‘फसाइयो’ वा ‘अन्तर्घात भयो’ भन्ने तर्कले मात्र व्याख्या गर्न नहुने बताएका छन्। “मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला। तर अन्तर्घातले पाँच–दस हजार मत तलमाथि हुन सक्छ, देखिएको ४०–५० हजारको मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो,” उनले लेखेका छन्।
उनले जनताले मतपत्रमार्फत दिएको सन्देशलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। यस्तो अवस्थामा आफ्नै कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु बुद्धिमानी नहुने उनको टिप्पणी छ।
पाण्डेले ठूलो नैतिक पराजयपछि नेतृत्वसँग अरूलाई कारबाही गर्ने नैतिक आधार कति बाँकी छ भन्ने प्रश्न पनि उठाएका छन्।
उनका अनुसार यो कुनै षड्यन्त्र नभई पार्टीको वर्तमान सञ्चालन पद्धतिप्रति जनताले दिएको स्पष्ट अस्वीकारको सन्देश हो। “अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ भने त्यो पार्टी र देश दुवैका लागि घातक हुन सक्छ,” उनले उल्लेख गरेका छन्।
पाण्डेले पार्टीले समयमै आफ्नो कार्यशैली परिवर्तन गर्ने साहस नगरे आगामी दिनमा पार्टी र देश दुवैका लागि हानिकारक हुन सक्ने चेतावनी दिएका छन्।




