देश परिवर्तन शान्ति स्थापना,राष्ट्रिय सुरक्षा,स्वाधिनता,संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको स्थापना,संविधानको स्थापना र रक्षा ,धर्मनिरपेक्षता,बहुवाद प्रणाली,गाउँदेखि सहरसम्म मोटर बाटो ,डिजिटलाइजेशनको विकास, स्वास्थ्य सेवा,खानेपानी शिक्षामा जस्ता कयौँ राम्रा काम गरेका निकै लामो राजनैतिक इतिहास भएकालाई जेनजी आन्दोलनले हरायो । यो इतिहास,घटनाक्रम र रास्वपाको उदयका बारे बारम्बार प्रश्न चिह्न उठिरहनेछन् । युवा पुस्तालाई हिंशात्मक आन्दोलन नगर्न सुझाउन सक्ने क्षमता भएको रास्वपा र बालेनले नै सिंहदरबार जलाउने अभियानमा सहकार्य गरेको विश्लेषण उच्च विन्दुमा छन् ।
२१ औँ शताब्दी परिवर्तनको युग हो। विज्ञान, प्रविधि, डिजिटलाइजेशन र शिक्षाको तीव्र विकासले विश्व समाजको स्वरूप नै परिवर्तन गरिरहेको छ। सूचना प्रविधिको विस्तारले नागरिकलाई सशक्त बनाएको छ, जसका कारण विश्वभरका समाजहरू पुराना संस्थागत संरचनाप्रति प्रश्न उठाउन थालेका छन्। यही पृष्ठभूमिमा “जेनजी आन्दोलन” भन्ने अवधारणा उदाएको छ—जसले जर्जर संरचनालाई चुनौती दिँदै नयाँ सामाजिक–राजनीतिक व्यवस्था निर्माण गर्ने चेतनालाई प्रतिनिधित्व ग¥यो । तर विडम्बना के छ भने यस्तो चेतनालाई सही रूपमा बुझ्ने र रचनात्मक मोडेलमा रूपान्तरण गर्ने दृष्टि नेपालमा अझै कमजोर देखिन्छ। अबका युगमा हिंशाको अन्त्य गर्न रचनात्मक तरिकाले सहमती र सहकार्यको बाटो अपनाउन सकिन्थ्यो । तर किन हिंशात्मक गतिविधि भयो इतिहासले सत्यको खोज गरिरहनेछ ।
विश्वका धेरै देशमा नयाँ पुस्ताले कलम, विचार र शान्तिपूर्ण आन्दोलनमार्फत परिवर्तनको बाटो खोजिरहेका छन्। तर नेपालमा भने कहिलेकाहीँ परिवर्तनको बहस विद्रोहको भावनामा सीमित हुन्छ, रचनात्मक सभ्यता निर्माणतर्फ केन्द्रित हुन सक्दैन। यही कारणले २१ औँ शताब्दीको “जेनजी सभ्य आन्दोलन” को सार बुझ्न नसक्नु नेपालका लागि दुःखद विषय बन्न पुगेको छ। नेपाल शान्ति, सहिष्णुता र करुणाको भूमि मानिन्छ। यो देश गौतम बुद्धको जन्मभूमि हो, जहाँ अहिंसा र संवादको दर्शनले विश्वलाई मार्गदर्शन गरेको छ। तर यिनै मूल्यहरूलाई आधुनिक राजनीतिक र सामाजिक आन्दोलनमा रूपान्तरण गर्न नसक्नु आजको ठूलो चुनौती बनेको छ। आन्दोलनहरू हुन्छन्, विद्रोहका आवाज उठ्छन्, तर ती आवाजहरूलाई सभ्य र रचनात्मक परिवर्तनमा परिणत गर्ने संस्थागत क्षमता कमजोर देखिन्छ।
२१ औँ शताब्दीको जेनजी आन्दोलनको मूल सन्देश केवल विद्रोह होइन, परिवर्तनको सभ्य र सृजनात्मक मार्ग खोज्नु हो। यसको उद्देश्य पुरानो व्यवस्थालाई केवल भत्काउनु मात्र होइन, त्यसको स्थानमा पारदर्शी, उत्तरदायी र जनकेन्द्रित नयाँ संरचना निर्माण गर्नु हो। तर नेपालको राजनीतिक संस्कृतिमा अझै पनि “भत्काउने” सोच बलियो छ, “निर्माण गर्ने” दृष्टि कमजोर। आजको डिजिटल युगमा नागरिक चेतना तीव्र रूपमा बढिरहेको छ। सामाजिक सञ्जालले सूचना र विचारको प्रवाहलाई व्यापक बनाएको छ। युवापुस्ताले विश्वका विभिन्न देशका राजनीतिक प्रयोग र आन्दोलनहरूबाट सिक्ने अवसर पाएका छन्। तर यो अवसरलाई रचनात्मक राजनीतिक संस्कृतिमा रूपान्तरण गर्न नसक्नु नेपाली समाजको कमजोरीका रूपमा देखिन्छ।
नेपालमा परिवर्तनको इतिहास लामो छ। विभिन्न आन्दोलनहरूले राजनीतिक व्यवस्था परिवर्तन गरेका छन्। तर प्रत्येक परिवर्तनपछि अपेक्षित संस्थागत सुधार र सभ्य राजनीतिक संस्कृतिको विकास हुन सकेन। यही कारणले बारम्बार नयाँ विद्रोहको आवश्यकता महसुस हुने परिस्थिति सिर्जना भएको विश्लेषण छ । जेनजी आन्दोलनको दर्शनले भने अर्को सन्देश दिन्छ—परिवर्तन केवल सत्ता परिवर्तन होइन, सभ्यता निर्माणको प्रक्रिया हो। यदि आन्दोलनले केवल असन्तोष र आक्रोश व्यक्त गर्छ भने त्यो क्षणिक हुन्छ। तर यदि त्यसले विचार, नीति र संस्थागत सुधारको स्पष्ट मार्ग देखाउँछ भने मात्र दीर्घकालीन परिवर्तन सम्भव हुन्छ।
नेपाल जस्तो देशका लागि यो सन्देश अझ महत्वपूर्ण छ। यहाँ शिक्षा, प्रविधि र डिजिटलाइजेशनको विस्तार भइरहेको छ। युवापुस्तामा चेतना बढिरहेको छ। यस्तो अवस्थामा आन्दोलनको स्वरूप पनि सभ्य, शान्तिपूर्ण र बौद्धिक हुनुपर्छ। कलम, विचार र संवादको माध्यमबाट नयाँ सामाजिक–राजनीतिक मोडेल निर्माण गर्न सक्ने क्षमता विकास गर्नुपर्ने आवश्यकता छ। अन्ततः २१ औँ शताब्दीको जेनजी आन्दोलनलाई केवल विद्रोहको प्रतीकका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यसको सार नयाँ सभ्यता निर्माणको खोज हो। यदि नेपालले यो चेतनालाई बुझ्न सकेन भने परिवर्तनका आन्दोलनहरू दोहोरिरहनेछन्, तर सभ्य र स्थिर समाज निर्माणको लक्ष्य अधुरै रहनेछ।
आजको सबैभन्दा ठूलो प्रश्न यही हो—के नेपाल विद्रोहको चक्रमा मात्र घुमिरहनेछ, वा २१ औँ शताब्दीको जेनजी चेतनालाई आत्मसात् गर्दै शान्तिपूर्ण, बौद्धिक र रचनात्मक आन्दोलनमार्फत नयाँ सभ्य समाज निर्माणतर्फ अघि बढ्नेछ ?
जेनजीको नाममा सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि नेपालमा ठूलो जनधनको क्षति भएको छ । आन्दोलन थप चर्किएपछि राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका (संघीय संसद्) भवनसहित धेरै सरकारी प्रशासनिक भवन, प्रहरी कार्यालय तथा केही व्यापारिक भवनमा क्षति पुग्यो, तर घाउ आलै छ । सिंहदरबारका दर्जनौं मन्त्रालयहरु, संघीय संसद्, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रदेशसभा भवन, विमानस्थलमा समेत आगजनी र तोडफोड भए। यस्तै ठूला होटल, नेताहरुका निजी निवास, पूर्वपदाधिकारीका निवास, सञ्चारमाध्यममा समेत तोडफोड भए । देशको मुख्य राजधानीका सयौं संचरनामा तोडफोड र आजगजी भइरहे पनि नेपालको सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले आफ्नो सुरक्षाबाहेक ती संरचना कुनै जोगाउन सकेनन् । राति १० बजेदेखि सेना परिचालन र प्रहरी भएको थियो । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र राति कर्फ्यु जारी गरिएको थियो । लुटपाट, आगजनी तोडफोड, नगद, हतियारसहित लुटिएका थिए । आन्दोलनका बीच ठूला ठूला भ्रष्टाचार, ठगी, हत्या, बलात्कार, व्यक्ति हत्या जस्ता अपराधमा जेल सजाय भोगिरहेका सयौं कैदीबन्दी हिरासतबाट भागेका थिए । प्रहरीले धेरै नियन्त्रणमा लिएको छ । अझ केही बाँकी छ । देशमा अशान्ति हत्या हिंशा र बलात्कारका घटनाहरु दिनप्रतिदिन बढ्दैछन् । सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी कसरी लिन्छ ?
संसदलाई हेर्ने आँखा चार भएपछि : संसद जलाउने हातमै सत्ता, यस्तो पनि राजनीतिक नैतिकता !?




