देश

रास्वपालाई खबरदारी गर्न श्रम संस्कृति पार्टी पर्याप्त छ : हर्क साङपाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले प्रतिनिधि सभा सदस्यको रूपमा सरकारको प्रतिपक्ष बन्न आफू एक्लै पर्याप्त रहेको दावी गरेका छन्। सुनसरी क्षेत्र नं १ बाट निर्वाचित साङपाङले सामाजिक सञ्जालमा रास्वपा नेतृत्वको सरकारलाई खबरदारी गर्न आफ्नो पार्टी पर्याप्त भएको उल्लेख गरेका हुन्।

मतदाताहरूप्रति धन्यवाद व्यक्त गर्दै उनले भने, “जनताले घण्टीलाई रुचाएपछि मैले पनि स्वीकार गर्नुपर्ने हुन्छ। अब प्रतिपक्ष नहुने जस्तो देखिएको चर्चा चलेको छ, तर म एक्लै पनि पर्याप्त छु।”साङपाङले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई ‘विदेशी दलाल’को संज्ञा दिँदै आवाज उठाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका एकमात्र निर्वाचित सांसद ज्ञानबहादुर शाहीसँग सहकार्य गर्न सक्ने सम्भावना पनि व्यक्त गरेका छन्। उनले थपे, “माननीय शाहीज्यूसँग कुरा मिल्छजस्तो लाग्छ, यो मेरो प्रारम्भिक अनुमान मात्रै हो।”

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ पनि राम्रो मत हासिल गरेको छ। छोटो समयमै दर्ता भएको पार्टीले हालसम्म ३ लाख ५८ हजार ४८६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। मतगणना जारी रहेकाले यो संख्या अझ बढ्न सक्ने देखिन्छ। साङपाङको यो दाबीले प्रत्यक्षतर्फ सानो पार्टी भए पनि संसदमा बलियो आवाज उठाउन सक्ने संकेत दिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *