काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले चार जना नाबालकलाई पक्राउ गरेको छ। पक्राउ परेका सबै जना १८ वर्षमुनिका रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी कक्षा ११ मा अध्ययनरत इनिसा विक फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन्। वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन नजिकैको क्षेत्रमा उनलाई अचेत अवस्थामा भेटेपछि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गर्दै जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी जाहेरी दिएका छन्।
प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा फागुन २३ गते दिउँसो एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो। त्यसपछि थप अनुसन्धान गर्दै अर्को दिन थप तीन जनालाई पनि नियन्त्रणमा लिइएको हो।
मृतकका परिवारका अनुसार इनिसा बिहान करिब ६ बजे ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। सामान्यतया बिहान ८ बजेसम्म घर फर्कने उनी सो दिन ढिलोसम्म नआएपछि परिवारले फोन सम्पर्क गर्ने प्रयास गरेको थियो। केही समयपछि शहीद पार्क नजिकै अचेत अवस्थामा रहेको जानकारी फोनमार्फत प्राप्त भएपछि परिवार घटनास्थल पुगेको थियो।
परिवारले घटनास्थलमा छोरीको शरीरमा चोटपटकका चिन्ह देखिएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविक कारणबारे स्पष्ट हुने अपेक्षा गरिएको छ।




