काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी नेतृत्वले राजीनामातर्फ ध्यान केन्द्रित गर्नु भन्दा वर्तमान संकट समाधानतर्फ लाग्नुपर्ने बताएका छन्। कांग्रेस सभापति गगन कुमार थापाले राजीनामा दिने तयारी गरिरहेका बेला भण्डारीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
भण्डारीका अनुसार अहिलेको अवस्था राजीनामा दिने होइन, जिम्मेवारी पूरा गर्ने समय हो। उनले नैतिकताको नाममा नेतृत्वले पद छाड्नु भन्दा पार्टीलाई छिटो महाधिवेशनतर्फ लैजानु उचित हुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेसको पछिल्लो चुनावी प्रक्रिया नियमित नभएको उल्लेख गरेका छन्। त्यसैले सभापतिले राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै जिम्मेवार र समयअनुकूल कदम हुने उनको भनाइ छ।
भण्डारीले अहिलेको परिस्थितिमा कांग्रेसलाई जोगाउनु नै ठूलो नैतिक दायित्व भएको बताए। उनका अनुसार पछिल्लो समय युवापुस्ता कांग्रेसबाट टाढिँदै गएको देखिएको छ, जसले पार्टीको भविष्यलाई चुनौती दिइरहेको छ।
“यस्तो अवस्थामा पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन,” भण्डारीले भनेका छन्।
उनले नेपाली राजनीतिमा नैतिकताको मूल्य कमजोर हुँदै गएको उल्लेख गर्दै अब नयाँ सोच, नयाँ नेतृत्व र संगठन सुदृढीकरण आवश्यक रहेको बताए। समस्या देखेर भाग्नु भन्दा त्यसको समाधान खोज्दै संगठनलाई बलियो बनाउनु नै नेतृत्वको वास्तविक जिम्मेवारी हुने उनको धारणा छ।
भण्डारीले इच्छाशक्ति र साहस भए नेपाली कांग्रेसलाई पुनः सशक्त बनाउने सम्भावना अझै रहेको पनि उल्लेख गरेका छन्।




