देश

कम मत ल्याउने ४९३ उम्मेदवारको गुम्यो धरौटी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा न्यून मत प्राप्त गर्ने देशका विभिन्न सात जिल्लाका ४९३ उम्मेदवारले निर्वाचनमा राखेको धरौटी रकम गुमाएका छन्। फागुन २१ गते सम्पन्न निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेका कारण ती उम्मेदवारको धरौटी जफत भएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार यस्तो अवस्थामा उम्मेदवारले बुझाएको धरौटी रकम जफत हुने व्यवस्था छ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा मात्रै २२६ जना उम्मेदवारको धरौटी जफत भएको छ। काठमाडौं क्षेत्र नं १ मा २६, क्षेत्र नं २ मा २५, क्षेत्र नं ३ मा १९, क्षेत्र नं ४ मा २५ जनाको धरौटी जफत भएको छ।

यसैगरी क्षेत्र नं ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेलसहित २२, क्षेत्र नं ६ मा १७, क्षेत्र नं ७ मा २६, क्षेत्र नं ८ मा २१, क्षेत्र नं ९ मा २२ र क्षेत्र नं १० मा २३ उम्मेदवारको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।

काठमाडौंमा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी तथा विभिन्न स्वतन्त्र उम्मेदवारले पनि आवश्यक मत प्राप्त गर्न नसक्दा धरौटी गुमाएका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले धरौटीबापत १० हजार रुपैयाँ बुझाउने व्यवस्था रहेको छ।

कास्कीमा पनि धेरै उम्मेदवारको धरौटी जफत भएको छ। कास्की–१ मा १४, कास्की–२ मा १४ र कास्की–३ मा १२ जना उम्मेदवारले आवश्यक मत ल्याउन नसक्दा धरौटी गुमाएका छन्।

दाङमा ५१ जना उम्मेदवारको धरौटी जफत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। दाङ–१ मा १२ र दाङ–२ मा २० जना उम्मेदवारले न्यून मत पाएका कारण धरौटी जफत भएको हो। दाङ–१ मा एमालेका रेवतीरमण शर्मा, नेपाली कम्युनिष्ट पार्टीका मेटमणि चौधरी तथा स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीसहितका उम्मेदवारको धरौटी जफत भएको छ।

इलाममा १८ जना उम्मेदवारले पनि धरौटी जोगाउन सकेनन्। इलाम–१ मा १३ उम्मेदवारमध्ये आठ र इलाम–२ मा १४ उम्मेदवारमध्ये १० जनाको धरौटी जफत भएको हो। यसैगरी भोजपुरमा सात जना उम्मेदवारको धरौटी जफत भएको छ भने बागलुङ क्षेत्र नं १ मा आठ उम्मेदवारले धरौटी गुमाएका छन्। त्यसमध्ये राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले समेत आवश्यक मत प्राप्त गर्न नसक्दा धरौटी जोगाउन सकेनन्।

रूपन्देहीमा १४३ उम्मेदवारको धरौटी जफत भएको छ भने ललितपुरमा ६३ उम्मेदवारको जमानत जफत भएको स्थानीय निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन्। ललितपुरमा राजनीतिक दलका ४० र स्वतन्त्रतर्फका २३ उम्मेदवारको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताउनुभयो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *