काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ विभिन्न मतदान केन्द्रमा स्थानीय मतदाताले मतदान गरिरहेका छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा–५ क्षेत्रमा सबैभन्दा बढी उम्मेदवारी परेको छ। यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा निवर्तमान काठमाडौँ महानगरपालिका पूर्वप्रमुख बालेन्द्र शाह )बालेन) लगायतका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।
झापा–५ मा कुल १,६३,३७९ मतदाता रहेका छन्। मतदाताहरूले मतदान केन्द्रमा आफ्नो अधिकार प्रयोग गर्दा शान्तिपूर्ण वातावरण कायम राख्न विशेष सुरक्षा व्यवस्था गरिएको छ। बालेन र ओलीको निर्वाचन क्षेत्रमा नेपाली सेनाको विशेष टोली परिचालन गरिएको छ, जसमा तालिमप्राप्त कुकुरसमेत सहभागी छन्। जिल्ला निर्वाचन कार्यालयले मतदाता र सुरक्षा निकायसँग समन्वय गर्दै मतदान व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न हुने कुरामा ध्यान दिइरहेको जनाएको छ।




