काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल ले नेपालका लागि भ्रष्टाचार मात्र होइन, अराजकता अझ ठूलो खतरा भएको बताएका छन्। निर्वाचनपूर्व सुरक्षा तयारीबारे गरिएको कुराकानीमा उनले मुलुकलाई प्रणालीविहीन बनाउने प्रवृत्तिबाट जोगाउनु नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए।
भदौ महिनापछि असामान्य परिस्थितिमा गृह प्रशासन सम्हालेका अर्यालले सरकारको मूल दायित्व मुलुक, मानवता र संविधानको रक्षा गर्नु रहेको उल्लेख गरे। उनका अनुसार विधिको शासन पुनःस्थापना गर्दै संवैधानिक प्रक्रियालाई सामान्य बनाउने लक्ष्यसहित सरकारले काम गरिरहेको छ।
निर्वाचन सुरक्षाबारे उनले एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा रहेको बताए। केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म समन्वयात्मक संयन्त्र सक्रिय बनाइएको र सम्भावित जोखिमलाई पूर्वसूचनाका आधारमा रोकथाम गर्ने रणनीति अपनाइएको उनको भनाइ छ। हिंसात्मक गतिविधि भए शून्य सहनशीलताको नीति अपनाइने तर सम्भव भएसम्म संवादमार्फत समस्या समाधान गर्ने प्रयास गरिने उनले स्पष्ट पारे।
प्रदेशस्तरमा सुरक्षा संयन्त्र सुदृढ बनाउन समन्वय संरचना बनाइएको उल्लेख गर्दै उनले कानुनमा भएका व्यवस्थालाई थप क्रियाशील र परिणाममुखी बनाइएको बताए।
राजनीतिक सन्दर्भमा बोल्दै गृहमन्त्री अर्यालले आवेगभन्दा विवेकलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। सरकार निष्पक्ष म्यान्डेटसहित निर्वाचन सम्पन्न गर्न गठन भएकाले तोकिएको जिम्मेवारी पूरा नगरी अन्यत्र नजाने प्रतिबद्धता दोहोर्याए। निर्वाचन सम्पन्न भई सत्ता हस्तान्तरण भएपछि कानुन व्यवसायमै फर्किने योजना रहेको उनले संकेत गरे।
आगामी सरकारबारे सुझाव दिँदै उनले सुशासन र भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा राख्नुपर्ने तर अराजकतालाई कुनै हालतमा प्रश्रय दिन नहुने बताए। “व्यक्तिभन्दा प्रणाली बलियो हुनुपर्छ, संस्थालाई हैकमबाट चलाउने प्रवृत्ति त्याग्नुपर्छ,” उनले भने। मतदातालाई सन्देश दिँदै उनले लहड वा आवेगमा होइन, राजनीतिक संस्कार र दीर्घकालीन स्थिरतालाई ध्यानमा राखेर मतदान गर्न आग्रह गरे। “पाँच वर्ष टिक्ने सरकार र जिम्मेवार राजनीतिक संस्कार स्थापना हुने गरी विवेक प्रयोग गर्नुहोस्,” उनले अपिल गरे।




