देश

निर्वाचन सुरक्षा ‘हाई अलर्ट’ मा, अवाञ्छित गतिविधिमा कडा बल प्रयोग गरिने : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै देशभर सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले निर्वाचन अवरोध गर्न खोज्ने वा आचारसंहिता उल्लंघन गर्ने तत्वविरुद्ध कडा कारबाही गरिने स्पष्ट पारेका छन्। निर्वाचन सुरक्षाबारे जानकारी दिँदै उनले गृह मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित एकीकृत सुरक्षा योजना लागू गरिएको बताए। चारै निकायबीच सूचना आदानप्रदान, जोखिम मूल्यांकन र संयुक्त परिचालनलाई प्रभावकारी बनाइएको उनको भनाइ छ।

देशभरका मतदान केन्द्रमा सुरक्षाकर्मी खटाइसकिएको र निर्वाचन सामग्री ढुवानीदेखि संवेदनशील क्षेत्रको निगरानीसम्म आवश्यक प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ। दुर्गम तथा हिमाली जिल्लामा कर्मचारी र सामग्री पुर्‍याउन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। मौन अवधिमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने वा निर्वाचन आचारसंहिता विपरीत गतिविधि गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी पनि दिइएको छ।

निर्वाचनका दिन मतदान केन्द्रमा डरत्रास, धम्की वा बुथ कब्जा जस्ता गतिविधि भए तत्काल नियन्त्रणमा लिएर कानुनअनुसार बल प्रयोग गरिने जनाइएको छ। जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा परिचालन हुने र आवश्यकता अनुसार थप सुरक्षा बल परिचालन गरिने व्यवस्था मिलाइएको छ।
आईजीपी कार्कीले मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्दै सुरक्षित वातावरण सुनिश्चित भइसकेको बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *