देश

निर्वाचन सुरक्षामा ‘हवाई निगरानी’ योजना, हेलिकप्टर स्ट्यान्डबाइ राखिने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा केन्द्रीय सुरक्षा समितिले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने निर्णय गरेको छ। मतदानको दिन आवश्यक परे हेलिकप्टरमार्फत हवाई गस्ती सञ्चालन गर्ने तथा आपतकालीन प्रयोजनका लागि हेलिकप्टर स्ट्यान्डबाइ राख्ने निर्णय गरिएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकले देशभर सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्ने निष्कर्ष निकालेको छ। बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, विभिन्न सुरक्षा निकायका प्रमुखहरू तथा गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए।

गृह मन्त्रालयकी उपसचिव रमा आचार्यका अनुसार बैठकमा निर्वाचनको समग्र तयारी र वर्तमान सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो। सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो क्षेत्रको अवस्थाबारे जानकारी गराएका थिए। यसअघि गृहसचिवले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट छलफल गरी जिल्लागत सुरक्षा अवस्था बुझिसकेको जनाइएको छ।

केन्द्रीय सुरक्षा समितिले भोलि हुने निर्वाचनमा हालसम्म कुनै गम्भीर सुरक्षा चुनौती नदेखिएको निष्कर्ष निकालेको छ। साथै, मतदान प्रक्रियामा कानुनविपरीत गतिविधि गर्ने जो–कोहीलाई नियन्त्रणमा लिएर कडा कारबाही गर्ने निर्णयसमेत गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा संयन्त्र पूर्ण तयारीमा रहेको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *