देश

लेक लागेर अस्वस्थ बने पाँच कर्मचारी, माथिल्लो डोल्पाबाट हवाई उद्धार

काठमाडौं । माथिल्लो डोल्पाको दुर्गम क्षेत्रमा खटिएका पाँच जना निर्वाचन कर्मचारी बिरामी परेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शे–फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित वडा कार्यालय भवनमा सञ्चालन हुने मतदान केन्द्रमा कार्यरत कर्मचारीहरू चिसो मौसम र अक्सिजनको कमीका कारण अस्वस्थ बनेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार जिल्ला अदालतका सहायक कर्मचारी (डिठ्ठा) गोर्खबहादुर थापा, साल्ट ट्रेडिङ कर्पोरेसनका कार्यालय सहयोगी धनबहादुर महतरा तथा निर्वाचनमा खटिएका प्रहरी कृष्ण झाँक्री, आत्मराम बोहोरा र इन्द्रमान धरला लेक लागेसँगै ज्वरो, टाउको दुख्ने, खोकी, बान्ता तथा श्वासप्रश्वासमा समस्या देखिएपछि तत्काल उद्धार गरिएको हो।

उद्धारपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा पठाइएको प्रशासनले जनाएको छ। फोतगाउँ मतदान केन्द्र सदरमुकाम दुनैबाट करिब छ दिन पैदल यात्रा गरेर पुग्नुपर्ने अत्यन्त दुर्गम स्थानमा पर्छ। तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन कठिनाइ भएपछि हवाई उद्धारको विकल्प अपनाइएको हो। उक्त केन्द्रमा ४० जना मतदाता रहेका छन्। निर्वाचनका लागि कर्मचारीहरूलाई यसअघि हेलिकप्टरमार्फत त्यहाँ पुर्‍याइएको थियो। कर्मचारीहरू बिरामी परेपछि सो मतदान केन्द्रमा वैकल्पिक व्यवस्थापन गर्ने प्रक्रिया सुरु गरिएको प्रशासनले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *