देश

परराष्ट्रको विस्तृत जानकारीमा मध्यपूर्व अपडेट : कुन देशमा कस्तो अवस्था ?

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाबारे परराष्ट्र मन्त्रालयले विस्तृत ‘ब्रिफिङ’ सार्वजनिक गरेको छ। मन्त्रालयले परराष्ट्र सचिवको संयोजकत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरी निरन्तर अनुगमन, समन्वय र आवश्यक परे उद्धार तयारी अघि बढाएको जनाएको छ। उक्त संयन्त्रमा गृह, अर्थ, कानुन, श्रम, पर्यटन, अध्यागमन, वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत निकायका प्रतिनिधि रहेका छन्। पश्चिम एसियास्थित १० नेपाली नियोगलाई नियमित ‘सिचुएसन एनालाइसिस रिपोर्ट’ पठाउन निर्देशन दिइएको छ। कन्सुलर सेवा विभागले सम्भावित उद्धारका लागि अनलाइन दर्ता प्रणाली पनि सञ्चालनमा ल्याएको छ।

देशअनुसार नेपालीहरूको अवस्था :
इजरायल

आज बिहानसम्म कुनै नयाँ आक्रमण नभएको रिपोर्ट आएको छ। नेपाली समुदाय दूतावाससँग नियमित सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको जनाइएको छ। हालसम्म तेल अभिवमा २ र जेरुसेलम आसपास ९ गरी ११ जनाको मृत्यु भएको प्रतिवेदन छ, तर नेपाली प्रभावित भएको जानकारी छैन।

कतार

दोहास्थित नेपाली दूतावासका अनुसार नेपालीहरू सुरक्षित छन्। कतारको हवाई क्षेत्र बन्द रहेकाले ट्रान्जिटमा रहेका नागरिकलाई एयरलाइन्सले होटलमा राखेको छ। इरानमा रहेका ६ नेपाली पनि दूतावासको सम्पर्कमा सुरक्षित छन्।

साउदी अरेबिया

‘रास तनुरा’ रिफाइनरीमा ड्रोन आक्रमण भए पनि आगलागी नियन्त्रणमा आएको छ। रियादस्थित अमेरिकी दूतावास क्षेत्रमा ड्रोन खसेको जानकारी छ। विदेशी नागरिक लक्षित विशेष एड्भाइजरी जारी भएको छैन।

यूएई

आक्रमण सैन्य स्थापनाबाहिर आवासीय क्षेत्रमा पनि पुगेको रिपोर्ट छ। एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु र ५८ जना घाइते भएको पुष्टि भएको छ। ट्रान्जिटमा रहेका नेपालीलाई होटलमा राखिएको छ।

बहराइन

अमेरिकी एयरबेस नजिकको घटनामा एक एसियाली कामदारको मृत्यु भए पनि नेपाली भने सुरक्षित छन्। दूतावासले सुरक्षा निर्देशिका पालना गर्न अनुरोध गरेको छ।

कुवेत र इराक

कुवेत र इराकमा मिसाइल तथा ड्रोन आक्रमणका कारण विमानस्थल र एयर स्पेस बन्द गरिएको छ। केही घाइते भए पनि नेपाली प्रभावित नभएको जानकारी छ।

ओमान

ठूलो प्रभाव नपरेको रिपोर्ट छ। एक भारतीय नागरिकको मृत्यु र केही घाइते भएको जानकारी आएको छ। नेपाली सुरक्षित छन्।

लेबनान र जोर्डन

आक्रमण प्रत्यक्ष लक्षित नभए पनि सतर्कता अपनाइएको छ। लेबनान र जोर्डनमा रहेका करिब ३ हजार नेपाली सुरक्षित रहेको जानकारी आएको छ।

दुबई ट्रान्जिट

फ्लाई दुबईमार्फत विभिन्न गन्तव्यमा जाने ८० नेपाली होटलमा छन्। काठमाडौंतर्फ उडानबारे दूतावासले एयरलाइन्ससँग समन्वय गरिरहेको छ। परराष्ट्र मन्त्रालयले सबै नेपालीलाई सम्बन्धित दूतावाससँग सम्पर्कमा रहन, आधिकारिक सूचना मात्र विश्वास गर्न र आपत्कालीन अवस्थामा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। सरकारका अनुसार स्थिति जटिल भएमा तत्काल निर्णय लिन आवश्यक संयन्त्र तयार अवस्थामा राखिएको छ।

https://www.sankalpakhabar.com/ribbon/2026/03/03/601843/

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *