काठमाडौं । होलीकै दिन स्वदेशी बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ।
अघिल्लो कारोबार दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ रहेको सुन सोमबार एकैदिन ५ हजार ६ सय रुपैयाँले उक्लिएको हो। पछिल्लो वृद्धि अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावसँग जोडिएको बताइएको छ। विशेषगरी मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजारमा सुन सुरक्षित लगानीका रूपमा आकर्षित हुँदा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ।
यसअघि माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड कायम भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ पुगेको छ।




