काठमाडौँ। फागुन २१ को निर्वाचनलाई मध्यनजर गरेर रास्वपाले शुक्रबार चितवनमा चुनावी सभा आयोजना ग¥यो । चितवनका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई मत माग्न भन्दै रास्वपाले ठूलो सभा आयोजना गरेको हो । सभालाई रवि लामिछाने, बालेन्द्र साह बालेन, सोविता गौतम, हरि ढकाललगायतले सम्बोधन गरे । रवि र बालेन शुक्रबार दिउँसो काठमाडौंबाट चितवन पुगेका हुन् ।
विगतमा रास्वपाले चितवनमा चुनावी वा अन्य आमसभा गर्दा खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो । तर शुक्रबार त्यस्तो दृश्य देखिएन । रास्वपाले भावी प्रधानमन्त्री भनेर प्र्रस्तावित बालेन आउने भए पनि भिड उल्लेख्य नभएको चर्चा सुरु भएको छ । रास्वपाको प्रचार प्रसार समितिले अगाडिको मास मात्रै राखेर फोटो वितरण गरेको छ । भिडियो पनि अगाडिको मात्रै छ । रास्वपाले विगतमा मास ठूलो हुँदा ड्रोन क्यामेराले खिचेर भिडियो र फोटो उपलब्ध गराउँथ्यो । तर यसपटक किन हो रास्वपा चितवनमै खिइँदै गएको हो कि भन्ने अनुमान गर्न थालिएको छ ।
चितवनमा कांग्रेस उम्मेदवार मिनाकुमारी खरेल, राजेन्द्र बुर्लाकोटी, रेनु दाहाललगायतले जबर्जस्त माहोल बनाएपछि दुई दुईपटक रास्वपालाई भोट हाल्नेहरु अहिले सचेत बनेको विश्लेषण हुन थालेको छ । त्यही भएर अहिले नेपाली कांग्रेस, एमाले, नेकपालगायतको घरदैलो र कोणसभामा उल्लेख्य भिड देखिन थालेको छ । रविलाई नै कांग्रेसकी मिना खरेलले दह्रो चुनौती दिन थालेको देखिएको छ । त्यही भएर अहिले रवि निर्वाचन क्षेत्रमा सबै ठाउँमा भोट माग्नसमेत गएनन् । र, आजको चुनावी सभाबाटै ‘म सबै ठाउँमा घरदैलोमा आउन सकिनँ, मैले यहीँबाट भोट मागें है’ भन्न बाध्य भएका छन् ।
रास्वपाको चुनावी सभालाई सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनसहित केन्द्रीय नेताले चुनावी सभालाई सम्बोधन गरेका छन् । रविले बालेनलाई स्वागत गर्दै भने, ‘भावी प्रधानमन्त्रीज्यूलाई निलो क्रान्तिको उद्गमस्थलमा स्वागत छ ।’ सभामा लामिछानेले सहकारी ठगी प्रकरणमा आफूविरुद्ध प्रमाण रहेको भन्दै कांग्रेस सभापति गगन थापाले दाबी गरेको लामो समय बितिसक्दा पनि त्यसको पुष्टि हुन नसकेको बताए । उनले अब आफूलाई प्रमाण नचाहिएको टिप्पणीसमेत गरे ।
‘मलाई धेरै नबोल, तिखो नबोल, चर्को नबोल भन्छन् । म परे रवि लामिछाने । अलिअलि नघोची हुँदैन । मलाई टुच्च–टुच्च नघोचेको भए म पनि चुप लाग्थेँ । ठाउँ–ठाउँबाट घोचिरहन्छन् । ममाथि प्रमाण छ भनिएको ६५८ दिन भइसक्यो, अब चाहिँदैन प्रमाण । मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भयो । म चितवनबाट भन्छु—मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनुहोला,’ उनले भने ।
लामिछानेले सहकारी ठगी प्रकरणलाई लिएर राजनीतिक रूपमा आफूलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए । उनले प्रमाणबिना आरोप लगाएर जनतालाई भ्रममा पार्ने काम भइरहेको दाबी गरे । रविले आफ्नो दल मागेर देश बनाउने पक्षमा नरहेको स्पष्ट पारे । ‘हामी मागेर होइन, गरिखाने देश बनाउने पक्षमा छौं,’ उनले भने, ‘आत्मनिर्भर र पारदर्शी शासनमार्फत देश परिवर्तन सम्भव छ ।’
यस्तै, रास्वपा वरिष्ठ नेता बालेनले मुलुक हेटौंडा सिमेन्ट कारखानाजस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गरे । उनले दक्ष जनशक्ति, खानि र आवश्यक औजार हुँदाहुँदै पनि हेटौंडा सिमेन्ट उद्योग बन्द गरिएको भन्दै नेपाली कांग्रेसको ‘वाईवाई’ फ्याक्ट्री जस्तै चल्नुपर्ने टिप्पणी गरे ।
बन्द रहेका सबै कारखाना सञ्चालन तथा नयाँ उद्योग स्थापना गर्ने पार्टीको योजना रहेको भन्दै घण्टी चिन्हमा मतदान गर्न उनले आग्रह गरे । ‘हाम्रो देश हेटौंडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन पनि छ । मेनपावर पनि छ, खानी पनि छ । तर बन्द । अब चल्नुप¥यो । नेपाली कांग्रेसको वाईवाई फ्याक्ट्रीजस्तै चल्नुप¥यो अब त्यो पनि । पूरै देशभरि चल्नुप¥यो । बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छौँ हामी,’ उनले भने ।




