देश

विभिन्न ग्रुपमा विभाजित जेन(जी) समूह कता छन् व्यस्त ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू चुनावी समीकरणमा व्यस्त छन्, तर पछिल्लो समय चर्चामा रहेको जेन(जी) समूह भने विभिन्न धारमा विभाजित देखिएको छ। आन्दोलनको राप–ताप घटेपछि यो समूह अहिले कुन मोर्चामा सक्रिय छ । पछिल्लो समयमा जेज(जी)का विभिन्न समुहहरु विभिन्न राजनैतिक दलमा आबद्ध भइसकेका छन् । कोही निर्वाचनको उम्मेदवार बनेका छन् भने कोही चुनावी प्रचारप्रसारमा छन् ।

मतदानको मिति नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा तनावपूर्ण घटना सार्वजनिक भइरहेका छन्। रौतहटको गौरमा साम्प्रदायिक तनाव बढेपछि प्रशासनले कफ्र्यु आदेश जारी गरी सुरक्षा संयन्त्र परिचालन गरेको थियो । तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को झण्डा जलाइएको घटनाले राजनीतिक वातावरण थप तातेको छ। यसलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी र एमाले समर्थकबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप तीव्र बनेको छ। यता, स्वर्गीय राजा वीरेन्द्र शाह को शालिक तोडफोड प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असन्तोष व्यक्त गरेको छ।

जेन(जी) आन्दोलनपछि राजनीतिक विकल्पको बहस चर्किएको थियो। तर निर्वाचन नजिकिँदै गर्दा यो समूह एउटै धारमा उभिएको देखिँदैन। केही सदस्यहरू नयाँ शक्तितर्फ आकर्षित भएको चर्चा छ भने केही बहिष्कारवादी अभियानप्रति सहानुभूति राखिरहेका छन्। निर्वाचन बहिष्कारको घोषणा गर्दै मोहन वैद्य नेतृत्वको समूह, धर्मेन्द्र बास्तोला पक्ष र ऋषि कट्टेल लगायतका कम्युनिस्ट धारका दलहरू आन्दोलनमा छन्। राष्ट्र, राष्ट्रियता तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ पनि निर्वाचनको विपक्षमा उभिएका छन्, यद्यपि उनी पक्राउ परिसकेका छन्।

निर्वाचनमै भाग लिएका प्रमुख दलहरूभित्रै परिणामप्रति अनिश्चितता देखिएको छ। नेपाली कांग्रेस भित्र नेतृत्व तहमा रणनीतिक मतभेदको संकेत छ। सभापति गगन थापाले परिवर्तनको सन्देश दिइरहेका बेला वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष भने मौन रणनीतिमा रहेको चर्चा छ।
पूर्वराजा ज्ञानेन्द्र शाहले समेत अहिलेको परिस्थितिमा निर्वाचन उपयुक्त नभएको धारणा सार्वजनिक गरिसकेका छन्। कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट पारेका छन्।

निर्वाचनको पूर्वसन्ध्यामा झण्डा दहन, तोडफोड र साम्प्रदायिक तनावले माहोल असहज बनेको छ। बहिष्कारवादी समूहहरू सडकमा सक्रिय छन् भने ठूला दलहरू परिणामप्रति सशंकित देखिन्छन्। यस्तो अवस्थामा जेन(जी) समूहको विभाजित उपस्थिति र मौन रणनीतिले चुनावी समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न अझै खुला छ। चुनावी मैदान तातिरहेको बेला यो समूहको स्पष्ट राजनीतिक दिशा अझै प्रष्ट देखिएको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *