राजनीति

सुन तस्करकी श्रीमती नितिमा भण्डारीसँग रवि लामिछानेको रोड शो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट उम्मेदवार बनेका छन् । यतिबेला उनी आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रोड शो गर्न भ्याइनभ्याइ छ । पार्टीका उम्मेदवारको निर्वाचन क्षेत्र पुगेर भोट माग्नु परेको छ । तर उनलाई चितवन २ मै यसपटक कांग्रेस उम्मेदवार मिना खरेलले आच्छुआच्छु पारेकी छन् ।

दुई दुईपटक जिताएर पठाए पनि आफ्नो निर्वाचन क्षेत्रको सांसद निलम्बित भएपछि चितवन २ ले यसपटक विकल्प सोचेको हो । सोही कारण अहिले कांग्रेस उम्मेदवार खरेल पक्षमा माहोल तातेको छ । घरदैलो कार्यक्रममा समेत हजारौंको संख्यामा समर्थक र कार्यकर्ता भेला हुन थालेका छन् । रविविरुद्ध जिल्ला, उच्च र सर्वोच्च तीनवटै तहका अदालतमा मुद्दा विचाराधीन भएको र सांसद जितेर गए पनि शपथ लिन नपाउने भएपछि चितवन २ ले यसपटक बोल्ड निर्णय गर्दैछ ।

जताततै गएर अन्य दलको पैसा र मासुभात मज्जाले खानुस् र भोट चाहिँ रास्वपालाई हाल्नुस् भनेर मतदाताको अपमान गर्ने रवि सुशासनको गफ दिन माहिर छन् ।सहकारी ठगीका अभियुक्त रविले बुधबार ३३ किलो सुन तस्करका आरोपी चेतन भण्डारीकी श्रीमती नितिमा कार्की भण्डारीसँग रोड शो गरेका छन् । सिराहा, धनुषा, महोत्तरी हुँदै सर्लाहीको लालबन्दी आइपुगेका रविले सर्लाही १ बाट रास्वपा उम्मेदवार नितिमासँग एउटै गाडीमा बसेर सुन तस्कर आरोपीकी श्रीमतीलाई भोट मागेका हुन् । अहिले यो विषयले सर्लाहीमा हंगामा मच्चिएको छ ।

नितिमा बाजेको सेकुवा रेष्टुरेन्टका सञ्चालक चेतन भण्डारीकी श्रीमती हुन्। चेतनको नाम २०७५ सालमा सार्वजनिक भएको चर्चित ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएको थियो। उक्त प्रकरणका मुख्य आरोपी भनिएका चूडामणि उप्रेती गोरेसँग मिलेर सुन तस्करी गरेको अभियोगमा भण्डारीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन हराएको तथ्य सार्वजनिक भएको थियो। सुन गायब भएपछि भरिया शाक्यलाई यातना दिँदा हत्या भएको घटनाले देशव्यापी आक्रोश जन्माएको थियो। त्यसपछि सरकारले १५ वैशाख २०७५ मा ७५ जनालाई विपक्षी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो।

सुन तस्करकी श्रीमतीलाई बोकेर हिँड्ने लामिछानेले ल्याउने सुशासन कस्तो होला भन्दै अहिले उनको सर्वत्र आलोचना भइरहेको छ । आफैं पनि आधा दर्जन मुद्दाका अभियुक्त भएकाले रविले आफ्नो पार्टीमा त्यस्तै त्यस्तै विवादित छविका व्यक्तिलाई टिकट दिएपछि रास्वपाका संस्थापक नेता कार्यकर्ताले धमाधम पार्टी छाड्न लागेका हुन् ।

सर्लाहीका असली कार्यकार्तालाई टिकट नदिएर सुन तस्करकी श्रीमतीलाई टिकट बेचेको भन्दै रास्वपाका नेता कार्यकर्ताले धमाधम पार्टी छाडेका छन् । सर्लाही, महोत्तरी र धनुषामा पाँच पाँचवटा टिकट मनिष झा र अमरेशकुमार सिंहले होटल व्यवसायी, क्यासिनो सञ्चालक, सुन तस्कर आरोपी, गाडी व्यापारीलाई बेचेको तथ्य खुलेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *