काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेपछि वीरगञ्ज सहर सुनसान बनेको छ । कर्फ्युसँगै वीरगञ्ज आसपासको क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । चुनावको मुखमा वीरगन्ज सुनसान बनेको हो ।
स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिका क्षेत्रमा पछिल्लो शान्ति सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार बिहान ९ः ४५ बजेदेखि लागू हुनेगरी महानगरको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेका हुन् ।
आइतबार वीरगञ्ज महानगरको श्रीपुर क्षेत्रमा पार्किङको विषयमा भएको सामान्य विवादबाट सुरु भएको घटनाले क्रमशः दुई समुदायबीच तनाव बढाएपछि जिल्ला सुरक्षा समितिले सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको जिकिर गरिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरभित्र चार किल्ला तोकेर कर्फ्यू आदेश गरिएको बताए । प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सियानदी, उत्तरमा गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेट सीमना तोकेर कसैले आवतजावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरिएको छ ।
तराई मधेशमा दैनिकजसो फरक फरक जिल्लामा कर्फ्यू आदेश जारी हुन थालेपछि जनता आक्रोशित बनेका छन् । ससानो निहुँमा कर्फ्यु आदेश गरेर जनतालाई घरमै थुन्ने कार्य आपत्तिजनक रहेको भन्दै वीरगन्जमा केही युवा विरोधमा उत्रिएका छन् । त्यसमाथि अहिले चुनावी माहोल छ । रौतहट सदरमुकाम गौर र पर्सा सदरमुकाम वीरगन्जमा लगाइएको कर्फ्युको त्रासको वातावरणमा चुनाव कसरी होला ?के जनतालाई घरभित्र थुनेर, बन्दुकको घेरामा जबर्जस्ती चुनाव गराउन लागिएको हो भन्ने आशंका उब्जिएको छ ।
शान्ति एवं सद्भावको भयरहित वातावरणमा नागरिकले आफ्नो मत खसाल्न पाएमा मात्र लोकतन्त्रको जित हुन्छ । तर अहिले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल भदौ २३ र २४ को झझल्को दिने गरी त्रासको वातावरणमा चुनाव गराउन खोजेका हुन् कि यस्ता साना विषयलाई देखाएर चुनाव बिथोल्न लागिपरेका हुन् भन्ने खुलिसकेको छैन । तर चुनाव हुने दिनसम्म पनि चुनाव हुन्छ कि रोकिन्छ भन्ने प्रश्न भने जीवितै रहने भएको छ ।
एकथरी मान्छे अहिले एमाले र सरकार दुवै निर्वाचन बिथोल्न लागिपरेको आशंका गरिरहेका छन् । यदि चुनावमा दलको पक्षमा लहर आएमा र बालेनले चुनाव नजित्ने अवस्था आएमा सरकारले कुनै एउटा बहाना झिकेर चुनाव रोक्ने छ । र, एमाले अध्यक्ष केपी ओली चुनाव हार्ने संकेत देखिएमा सो पार्टीले कुनै घटना घटाउने र चुनाव बिथोल्ने भनेर हल्ला चलाइएको छ । सहरी क्षेत्रमा यस्ता दुवैथरी हल्ला सनसनी मच्चिएको छ । त्यही भएर अहिले गौर र वीरगन्जका घटनालाई सामान्य रूपमा नलिन भनेर केही राजनीतिक विश्लेषकले सामाजिक सञ्जाल र सार्वजनिक रूपमा अभिव्यक्ति दिन थालेका छन् ।
वीरगञ्ज घटनापछि सर्वपक्षीय निष्कर्ष : सद्भाव बिगार्नेलाई कडा कारबाहीको निर्णय




