देश

रास्वपा परित्याग गरी कांग्रेस प्रवेश गर्नेको लर्को,मकवानपुरका सभापति पनि फर्किए कांग्रेसमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी त्याग गरी पुनः नेपाली कांग्रेस प्रवेश गरेका छन्। करिब तीन दशक लामो राजनीतिक यात्रामा कांग्रेसबाटै उदाएका पराजुली पछिल्लो समय रास्वपामा सक्रिय थिए। रास्वपा मकवानपुरले हेटौंडा–४ स्थित हुप्रचौरमा कार्यक्रम गरिरहेकै दिन पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेस सभापति गगनकुमार थापाले स्वागत गरेका थिए। पराजुलीसहित रास्वपा मकवानपुरका केही नेता आइतबार राति नै सर्लाही पुगेका थिए।

कांग्रेस प्रवेशपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पराजुलीले रास्वपाको नेतृत्व शैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीभित्र सीमित व्यक्तिको प्रभाव, चाकरी प्रवृत्ति र आलोचनालाई अस्वीकार गर्ने संस्कारले आफूलाई निराश बनाएको उनको टिप्पणी छ। उनले आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अनुभूति भएपछि पुरानै राजनीतिक घर फर्कने निर्णय लिएको जनाएका छन्।

मनहरी गाउँपालिका घर भएका पराजुली ६ मंसिर २०८१ मा सम्पन्न जिल्ला भेलाबाट सर्वसम्मत रूपमा पुनः सभापति चयन भएका थिए। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बनेर १२ हजार ३९ मत ल्याउँदै तेस्रो स्थानमा रहेका थिए। उक्त क्षेत्रमा नेकपा (एमाले)का महेश बर्तौलाले ३४ हजार ९१६ मतसहित विजय हासिल गरेका थिए भने तत्कालीन नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले ३० हजार ३९६ मत पाएका थिए।

आगामी फागुन २१ गतेको निर्वाचनमा पुनः उम्मेदवार बन्ने तयारीमा रहेका पराजुली टिकट लिन काठमाडौं पुगेका थिए। तर सोही क्षेत्रका २५ वर्षीय प्रशान्त उप्रेतीले टिकट पाएपछि उनी निराश बनेका थिए। स्रोतका अनुसार उम्मेदवारी दर्ताको अघिल्लो दिन रास्वपा सभापति रवि लामिछानेले फोनमार्फत पार्टीले उनको योगदानको मूल्यांकन गर्ने आश्वासन दिएका थिए। तर अन्ततः उनले कांग्रेस रोजेका हुन्।

पराजुली कांग्रेसका पुराना नेता मानिन्छन्। शालीन र भद्र स्वभावका रूपमा चिनिएका उनले मकवानपुरको पश्चिमी क्षेत्रमा आफ्नो अलग राजनीतिक छवि बनाएका छन्। उनको पुनरागमनलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ भने रास्वपाका लागि भने यो घटना मकवानपुरमा संगठनात्मक झट्का मानिएको छ।

आन्तरिक असन्तुष्टि, टिकट विवाद र उग्र अभिव्यक्ति , रास्वपा संकटको संघारमा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *