राजनीति

आन्तरिक असन्तुष्टि, टिकट विवाद र उग्र अभिव्यक्ति , रास्वपा संकटको संघारमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रको असन्तुष्टि सतहमा आएको छ। दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् भने केहीले खुला रूपमा नेतृत्वको कार्यशैली, टिकट वितरण र आन्तरिक पारदर्शितामाथि प्रश्न उठाएका छन्। रास्वपाकी मधेस प्रदेश संस्थापक अध्यक्ष ममता शर्मादेखि बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंसम्मका नेताहरूले उम्मेदवार छनोट प्रक्रियामा ‘विधि र विधान मिचिएको’ भन्दै पार्टी   परित्याग गरेका छन् । केहीले संगठनमा योगदान दिएका कार्यकर्तालाई पाखा लगाएर हालसालै प्रवेश गरेका वा नेतृत्व नजिक रहेका व्यक्तिलाई प्राथमिकता दिइएको दाबी गरेका छन्।

संस्थापक सदस्य खेमकुमारी भुर्तेल, केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय राणा लगायतले पनि पार्टीको निर्णय प्रक्रिया पारदर्शी नभएको आरोपसहित राजीनामा दिएका छन्। धेरैजसो असन्तुष्ट नेताहरू अन्ततः नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राजनीतिक विश्लेषकहरू भन्छन्—नयाँ दलका लागि सबैभन्दा ठूलो चुनौती नै संस्थागत संरचना र आन्तरिक लोकतन्त्र हो। उत्साह र जनसमर्थनलाई संगठनमा रूपान्तरण गर्न नसक्दा आन्तरिक असन्तोष तीव्र हुने जोखिम बढेकाे छ ।

आक्रामक अभिव्यक्ति र विवाद

पार्टीभित्रको असन्तुष्टिसँगै केही उम्मेदवार र समर्थकका अभिव्यक्तिले पनि रास्वपामाथि प्रश्न उठाएको छ। सुनसरी–३ का उम्मेदवार अशोक चौधरीले रास्वपालाई भोट नदिनेहरूलाई ‘देशविरोधी’ करार गरेपछि व्यापक आलोचना भयो। सर्लाही–४ का उम्मेदवार अमरेशकुमार सिंहले चुनाव नजिते आत्मदाह गर्ने चेतावनी दिएको अभिव्यक्ति पनि विवादमा तानियो। दाङमा एमालेको झण्डा जलाइएको घटनाले थप तरंग ल्यायो। उक्त घटनापछि नेकपा (एमाले)का नेताहरूले कडा आपत्ति जनाए। यसले चुनावी प्रतिस्पर्धालाई मुद्दामुखी बहसभन्दा भावनात्मक ध्रुवीकरणतर्फ धकेल्ने संकेत देखिएको छ।

‘ओलारो बाटो’ कि संक्रमणकाल?

२०७९ असारमा स्थापना भएको रास्वपा छोटो समयमै राष्ट्रिय राजनीतिमा उदाएको शक्ति हो। तर तीव्र विस्तारसँगै संगठनात्मक संरचना बलियो बनाउने चुनौती पनि उस्तै छ। राजनीतिक इतिहासले देखाएको छ—आन्तरिक लोकतन्त्र, पारदर्शिता र अनुशासन कायम राख्न नसक्दा नयाँ दलहरू छिट्टै संकटमा पर्छन्। अहिलेको परिदृश्यले रास्वपा संक्रमणकालमा रहेको संकेत गर्छ। केही विश्लेषकहरूका अनुसार असन्तुष्टि र विवादलाई संस्थागत सुधारमार्फत समाधान गर्न सके पार्टीले पुनः सुदृढीकरणको अवसर पाउन सक्छ। अन्यथा, उत्साहमा उभिएको राजनीतिक शक्ति ‘ओलारो बाटो’तर्फ उन्मुख हुने जोखिम बढ्न सक्छ। निर्वाचन नजिकिँदै गर्दा मतदाताले केवल नाराभन्दा संगठन, आन्तरिक अनुशासन र व्यवहारलाई पनि मूल्यांकन गर्नेछन्। यही मूल्यांकनले रास्वपाको आगामी राजनीतिक यात्राको दिशा तय गर्ने देखिन्छ।

झण्डा जलाउने घटनामा कारबाही नभए सशक्त प्रतिवाद गर्ने नेशनल भोलेन्टियर्स फोर्सको चेतावनी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *