काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत फैलिँदै गएको पपुलिस्ट प्रवृत्तिले लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिएको बताएका छन्। पछिल्लो समय केही नेताहरूको गतिविधितर्फ संकेत गर्दै उनले लोकतन्त्रलाई हलुका बनाउने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले लोकप्रियता बटुल्ने नाममा सामाजिक सञ्जाल प्रयोग गरेर जनभावना उचाल्ने काम लोकतन्त्रका लागि घातक हुन सक्ने चेतावनी दिए। उनले यस्तो अभ्यासले दीर्घकालीन राजनीतिक स्थायित्व कमजोर बनाउने धारणा राखे।
उनले देशलाई निर्वाचनतर्फ लैजाने निर्णय आफ्नो पार्टीकै पहलमा सम्भव भएको दाबी गरे। राजनीतिक अन्योल, संसद पुनःस्थापना र सर्वदलीय सरकारका बहस चले पनि अन्ततः ताजा जनादेश नै सबै समस्याको वैधानिक समाधान भएको उनको भनाइ थियो। “आज देश निर्वाचनको चरणमा प्रवेश गरिसकेको छ,” प्रचण्डले भने, “यो प्रक्रियासम्म आइपुग्दा राष्ट्रिय राजनीतिमा धेरै तनाव र बहस भए, तर अहिले सिङ्गो मुलुक नै निर्वाचनमय भइसकेको छ।” उनले आफ्नो पार्टीको संगठन र जनआधार दिनप्रतिदिन बलियो बन्दै गएको पनि उल्लेख गरे।
वर्तमान राजनीतिक जटिलताबाट निकास पाउन जनतामाझ जानु अपरिहार्य भएको भन्दै उनले निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको दोहोर्याए। नयाँ जनादेशसहित गठन हुने प्रतिनिधिसभाले जेनजी पुस्ताका अपेक्षा र मागलाई समेत सम्बोधन गर्न सक्ने विश्वास उनले व्यक्त गरे। प्रचण्डले ‘जेनजी आन्दोलन’को भावना समेट्ने उद्देश्यसहित सबै कम्युनिष्ट शक्तिलाई एकै ठाउँमा ल्याएर नयाँ पार्टी निर्माण गरिएको जानकारी दिए। उनका अनुसार हाल उक्त पार्टीमा साना–ठूला गरी २६ वटा राजनीतिक दल आबद्ध छन् भने हजारौँ कार्यकर्ता पार्टीसँग जोडिइसकेका छन्। लोकप्रियताको छोटो बाटो खोज्नु भन्दा विचार, संगठन र जनादेशको बलमा अघि बढ्नुपर्ने उनको जोड थियो।




