देश

‘मेरो २१ दिन’ अभियानसहित कांग्रेस चुनावी मैदानमा , निर्वाचन परिचालन निर्देशिका ०८२ स्वीकृत

काठमाडौं। नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै तयार गरेको निर्वाचन परिचालन निर्देशिका–०८२ औपचारिक रूपमा स्वीकृत गरेको छ। आइतबार बिहान बसेको पार्टीको कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्देशिकालाई अनुमोदन गरेको हो।

उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित निर्वाचन परिचालन समितिले तयार पारेको उक्त निर्देशिकाले फागुन १ देखि २१ गतेसम्म पार्टीलाई पूर्ण रूपमा चुनाव केन्द्रित बनाउने नीति अघि सारेको छ। निर्देशिकामा ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित सबै तहका नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा खटिने व्यवस्था गरिएको छ।

निर्देशिकाअनुसार पार्टीभित्र “जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ” भन्ने कार्यविभाजनको सिद्धान्त लागू गरिनेछ। केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रका तहबाट तोकिएका प्रतिनिधिहरूले आफ्नो जिम्मेवारी तोकिएको स्थानमा पूरा गरेपछि पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका तथा वडामा केन्द्रित भएर काम गर्ने व्यवस्था गरिएको छ।

यसैगरी, अन्यत्र जिम्मेवारी नपाएका पार्टीका सबै पदाधिकारी र सदस्यहरू आ–आफ्नो स्थानीय तहमा रहेर मतदाता भेटघाट, संगठन सुदृढीकरण र प्रचार–प्रसारमा सक्रिय रहने निर्देशिकामा उल्लेख छ। निर्देशिकाले संगठनलाई अनुशासित, जिम्मेवार र परिणाममुखी बनाउँदै चुनावी अभियानलाई एकीकृत ढंगले अगाडि बढाउने लक्ष्य लिएको कांग्रेसको भनाइ छ। पार्टी नेतृत्वले यस अभियानमार्फत तल्लो तहसम्म संगठनलाई चलायमान बनाउँदै चुनावी परिणाम आफ्नो पक्षमा ल्याउने अपेक्षा गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *