देश

रुकुम पश्चिम : व्यवसाय, सामाजिक अभियान र राजनीतिमा लामो समयदेखि सक्रिय राजु केसी कांग्रेसबाट चुनावी मैदानमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा रुकुम पश्चिमको राजनीतिक माहोल तातिएको छ। यस पटक नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राजु केसीले गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो उपस्थिति बलियो बनाइरहेका छन्। घरदैलो अभियान, स्थानीय छलफल र विकास केन्द्रित एजेन्डामार्फत उनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक विकल्पका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्।

व्यवसाय, सामाजिक अभियान र राजनीतिमा लामो समयदेखि सक्रिय केसीलाई रुकुम पश्चिममा उदाउँदै गएको राजनीतिक शक्तिका रूपमा हेरिन थालेको छ। उनको मुख्य प्रतिस्पर्धा यस पटक पूर्वमन्त्री तथा प्रभावशाली नेता जनार्दन शर्मासँग हुँदैछ, जसले निर्वाचनलाई रोचक र चुनौतीपूर्ण बनाएको छ।

क्षेत्रीय पकड र मत गणनाको अनुमान

मुसिकोट, त्रिवेणी, चौरजहारी, बाँफिकोट र आठबीसकोट क्षेत्रमा आफूले सकारात्मक जनसमर्थन पाएको केसीको दाबी छ। चुनावी अभियानका क्रममा प्राप्त प्रतिक्रिया र टोलीको आन्तरिक मूल्याङ्कनका आधारमा आफू अग्रस्थानमा रहेको उनको भनाइ छ। सानीभेरी क्षेत्रमा प्रतिस्पर्धा केही कडा भए पनि समग्र परिणाम आफ्नो पक्षमा आउनेमा उनी आशावादी छन्।उनका अनुसार यस निर्वाचनमा करिब ३५ प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारले जित हासिल गर्ने सम्भावना छ। आफूले २३ हजारभन्दा बढी मत ल्याउने अनुमान गर्दै उनले जिल्लामा ५८ देखि ६० प्रतिशत मत खस्ने प्रक्षेपण गरेका छन्।

विकासमुखी एजेन्डा र चुनावी रणनीति

चुनावी प्रचारका क्रममा केसीले व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा विकासका योजनालाई प्राथमिकता दिने रणनीति अपनाएका छन्। युवा रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको विस्तार, ज्येष्ठ नागरिकको जीवन सहज बनाउने कार्यक्रम तथा रुकुमलाई आत्मनिर्भर बनाउने लक्ष्य उनका प्रमुख प्रतिबद्धता हुन्। युवालाई जिल्लामै अवसर उपलब्ध गराउने र सामाजिक सेवामा समान पहुँच सुनिश्चित गर्ने विषय उनले जोडदार रूपमा उठाइरहेका छन्।

स्थानीय सहभागिता र समर्थन

बाँफिकोट गाउँपालिकाका विभिन्न वडामा सम्पन्न घरदैलो अभियानमा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको छ। बाँफिकोट–५ स्यार्पुमा महिला समूहले बाजागाजासहित गरेको स्वागतलाई केसी पक्षधरहरूले जनआधार विस्तारको संकेतका रूपमा लिएका छन्। अभियानमा स्थानीय समूह र शुभेच्छुकको सक्रियता बढ्दै गएको उनका सहयोगीहरू बताउँछन्।

बहुपक्षीय प्रतिस्पर्धा

यस पटक रुकुम पश्चिममा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० का संरक्षक जनार्दन शर्मा आँखा चुनाव चिह्नसहित मैदानमा उत्रिएका छन्। अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट भारी मतसहित विजयी शर्मा यस पटक एमालेसँगको तालमेलमा छन्। एमालेका उम्मेदवार नन्दराम देवकोटाले शर्मालाई समर्थन गर्ने सहमति भएको जनाइएको छ। अन्य दलका उम्मेदवारहरू पनि मैदानमा रहेकाले चुनावी समीकरण जटिल बन्दै गएको छ।

अघिल्लो निर्वाचनमा शर्माले ३९ हजार ५४९ मत प्राप्त गर्दा एमाले उम्मेदवार देवकोटाले १२ हजार ९६९ मत ल्याएका थिए। समानुपातिकतर्फ कांग्रेस र एमालेको मत लगभग बराबर रहेकाले यस पटक प्रत्यक्षतर्फ कांग्रेसको उम्मेदवारीले समीकरण फेरिन सक्ने विश्लेषण भइरहेको छ।

उद्यमशीलता, आन्दोलन र सामाजिक योगदान

२०३८ फागुन ८ गते जन्मिएका राजु केसी उद्यमशील पृष्ठभूमिका नेता हुन्। २०५८र५९ सालदेखि होटल व्यवसायमा संलग्न उनी काठमाडौंको सुन्धारामा गेष्ट हाउस, हाउजिङ, सहकारी र यातायात सेवामा लगानी गरिरहेका छन्। राप्ती–रुकुम तथा सल्यान–रुकुम यातायात सेवा सञ्चालनमा उनको भूमिका उल्लेखनीय मानिन्छ।

काठमाडौंमा अध्ययनकै क्रममा व्यवसाय सुरु गरेका केसी २०५८ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छन्। २०६२र६३ को जनआन्दोलनका क्रममा पटक–पटक हिरासतमा परेका उनी लोकतान्त्रिक आन्दोलनका सहभागी हुन्। विपद् राहत, स्वास्थ्य उपचार, शैक्षिक सहयोग र जिल्लाबाहिर रहेका नागरिकलाई सहजीकरण गर्ने काममा पनि उनी निरन्तर संलग्न रहँदै आएका छन्।

युवा नेतृत्वप्रति अपेक्षा

निर्वाचन नजिकिँदै जाँदा रुकुम पश्चिममा विकास, रोजगारी र सेवा पहुँच मुख्य बहसका विषय बनेका छन्। नेपाली कांग्रेसले युवा नेतृत्वलाई अघि सार्ने रणनीति लिएको सन्दर्भमा राजु केसीलाई नयाँ पुस्ताको प्रतिनिधिका रूपमा प्रस्तुत गरिएको छ। गाउँ–गाउँ पुग्दै मतदातासँग संवाद गरिरहेका केसीको सक्रियताले रुकुम पश्चिमको चुनावी परिणाममा कस्तो प्रभाव पार्छ भन्ने चासो अहिले व्यापक रूपमा बढेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *