काठमाडौं । नेपाली कांग्रेस नेपालको निर्वाचन इतिहासमा कहिल्यै तेस्रो स्थानमा नझरेको दल हो। पहिलो आम निर्वाचनदेखि पछिल्ला चुनावसम्म कांग्रेस कहिले पहिलो त कहिले दोस्रो स्थानमा सीमित हुँदै आएको छ। यही ऐतिहासिक निरन्तरता आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि कायम रहन्छ कि भंग हुन्छ भन्ने चासो अहिले राजनीतिक वृत्तमा बढ्दो छ।
२०४६ सालको जनआन्दोलनपछि भएको निर्वाचनहरूमा कांग्रेसले आलोपालो बहुमत र दोस्रो स्थान हासिल गरेको देखिन्छ। २०४८ र २०५६ मा एकल बहुमत ल्याएको कांग्रेस २०६४ मा माओवादीसँग पछि पर्यो भने २०७० मा पुनः पहिलो बन्यो। संविधान बनेपछिका चुनावमा भने वाम गठबन्धन र नयाँ राजनीतिक शक्तिका कारण कांग्रेसको हैसियत चुनौतीपूर्ण बन्दै गएको छ।
विशेषगरी समानुपातिक मतले कांग्रेसको लोकप्रियताको वास्तविक अवस्था देखाउँदै आएको छ। २०७४ मा ३१ लाखभन्दा बढी मत पाएको कांग्रेस २०७९ मा घटेर करिब २७ लाखमा सीमित भयो। नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र मत विभाजनले कांग्रेसको आधारमा असर पारेको विश्लेषण गरिन्छ।
अब फागुन २१ मा हुने निर्वाचन कांग्रेसका लागि निर्णायक मानिएको छ। ‘बदल्यौ कांग्रेस, बदल्छौ देश’ नारासहित नयाँ नेतृत्व—गगन थापाको सभापतित्वमा—निर्वाचनमा होमिएको कांग्रेस परम्परागत प्रतिस्पर्धी एमाले र उदाउँदो रास्वपासँग प्रत्यक्ष प्रतिस्पर्धामा छ। नेपाली कांग्रेसले कोहीसँग तालमेल नगरी अघि सभापति थापाले बताउँदै आएका छन् ।
आन्तरिक असन्तुष्टि, नेताहरूको दल परिवर्तन, र मतदाताको बदलिँदो मनोविज्ञान कांग्रेसका मुख्य चुनौती हुन्। विगतमा असन्तुष्ट नेताहरू बागी बन्थे भने यस पटक उनीहरू अन्य दलतर्फ गएका छन्, जसले कांग्रेसको मत आधारलाई थप दबाबमा पारेको छ।
यद्यपि कांग्रेस नेतृत्व भने आशावादी देखिन्छ। पार्टीका एक पदाधिकारीका अनुसार कांग्रेसको न्यूनतम मत आधार २२ लाख र अधिकतम क्षमता ३२ लाखसम्म रहेको दाबी छ। “जति नै प्रतिकूल अवस्था भए पनि यस पटक ३० लाख मत नाघ्ने विश्वास छ,” उनको भनाइ छ।
इतिहासले बलियो देखिएको कांग्रेसको भविष्य अब मतदाताको निर्णयमा निर्भर छ। परम्परागत आधार जोगाउँदै नयाँ मतदाता तान्न सक्ने हो भने कांग्रेसले आफ्नो पुरानो साख कायम राख्न सक्छ, नत्र भने इतिहासमै नयाँ मोड आउने सम्भावना पनि नकार्न सकिँदैन।




