काठमाडौं । सार्वजनिक मञ्चमा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरोधी भाषण गर्ने अनुहारहरू जब व्यवहारमा ठेकेदार र व्यापारीको सहारामा देखिन थाल्छन्, त्यहीँबाट राजनीतिका साँचो प्रश्नहरू उठ्न थाल्छन्। काठमाडौं महानगरका पूर्वप्रमुख बालेन्द्र शाह (बालेन) र उनका ‘सबैभन्दा विश्वासिला’ मानिएका व्यक्ति राजुनाथ पाण्डेको गतिविधिले यतिबेला यही विरोधाभास उजागर गरिरहेको छ।
बालेन व्यापारीको गाडी चढेको विषयले विवाद चर्किरहेकै बेला, उनका पूर्व बडिगार्ड तथा महानगर प्रहरी बलका निवर्तमान प्रमुख राजुनाथ पाण्डे भने ठेकेदारको महँगो गाडीमा चुनावी मैदानमा देखिएका छन्। बालेन मेयर पदबाट बाहिरिएलगत्तै राजीनामा दिएका पाण्डे हाल काठमाडौं क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हुन्।
पाण्डेले प्रयोग गरिरहेको कालो रंगको महँगो गाडी ठेकेदार शैलेशराज कुँवरको भएको खुलेको छ। कुँवर हाल गुठी संस्थानका सदस्य सचिव हुन्—उनी कांग्रेस नेता बद्रि पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा नियुक्त भएका व्यक्ति। उनको नियुक्ति योग्यतामाथि प्रश्न उठ्दै सर्वोच्च अदालतसम्म मुद्दा पुगेको तथ्य पनि विवादरहित छैन।
गुठी संस्थान जानुअघि कुँवर काठमाडौं महानगरसँग ठेक्का लिएर न्यूरोड क्षेत्रमा पार्किङ शुल्क असुलीमा संलग्न थिए। पार्किङ निषेधपछि उनी अच्युत खरेल नेतृत्वको ‘समानान्तर जेभी’सँग जोडिएका थिए—सरकारी भवन निर्माणमा एकछत्र पकड जमाएको ठेकेदार समूह। संसद् भवनदेखि सर्वोच्च अदालत, राष्ट्र बैंक, रक्षा मन्त्रालय, मुख्यमन्त्री निवाससम्म निर्माण गरेका यही समूहको प्रत्यक्ष–अप्रत्यक्ष घेराभित्र कुँवर पर्दछन्।
टेकुस्थित काठमाडौं महानगरको प्रशासनिक भवन निर्माण मा ठेक्कालागत अनुमानभन्दा करिब २० करोड बढी मूल्यमा ठेक्का दिएको भन्दै विशेष अदालतमा मुद्दा चल्यो। अदालतले भ्रष्टाचार ठहर गरेपछि सरकारी अधिकारीहरूको जागिर गयो, तर ठेकेदार पक्ष भने उन्मुक्त रह्यो। यही पृष्ठभूमिमा रहेका शैलेश कुँवरबाट राजुनाथ पाण्डेले गाडी ‘प्रयोग’ गर्नु केवल साधारण संयोग मात्र हो त ?
राजुनाथ पाण्डेको विगत पनि विवादरहित छैन। एसपी दर्जाबाट बालेनकै कृपामा कामु एसएसपी बनेका पाण्डे नियमविपरीत साढे तीन वर्ष सोही पदमा बसे। घुस लिएको, अवैध पार्किङको पैसा पचाएको र महिला नगर प्रहरीमाथि दुव्र्यवहार गरेको आरोप उनीमाथि पटक–पटक लाग्यो। एकपटक ११ महिनाका लागि निलम्बनसमेत भए—तर नेतृत्व फेरिएसँगै निलम्बन फुकुवा भयो। सबैभन्दा गम्भीर आरोप महिला नगर प्रहरीमाथिको दुर्व्यवहार थियो। उजुरी महिला आयोगसम्म पुग्यो, तर छानबिन अघि बढ्नुअघि नै पाण्डेलाई पुरस्कृत गरियो। दबाबपछि बनेको छानबिन समिति पनि औपचारिकतामा सीमित रह्यो। अन्ततः पीडितले न्याय नपाएर जागिरै छोडिन्।
यही पृष्ठभूमिका पात्र आज ‘देश बनाउँछु’ भन्दै ठेकेदारको गाडी चढेर मत माग्दै हिँडिरहेका छन्। एक पूर्व उपमेयर निकट स्रोत भन्छ, “सुशासनको नारा लगाएर कुशासनका पात्रलाई बोकेर हिँड्नु राजनीतिक पाखण्ड होइन भने के हो ?” बालेनले निर्माण गरेको ‘नयाँ राजनीति’ को ब्रान्ड यस्ता घटनाले खोक्रो बन्दै गएको देखिन्छ। प्रश्न अब यो होइन कि गाडी कसको हो—प्रश्न यो हो कि शक्तिपुगेमा पछि आफूले बोलेको मूल्यलाई नेताहरूले आफैंले किन धोका दिँदैछन् ?




