देश

डा.बाबुराम भट्टराई उम्मेदवारी फिर्तासँगै अब चुनावमा ‘हितैसीको बिचौलिया’ बन्ने संकेत

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिएसँगै उनको आगामी भूमिका फेरि चर्चाको केन्द्रमा आएको छ। प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट पछि हटे पनि उनी पूर्ण रूपमा राजनीतिबाट अलग हुनेभन्दा पनि ‘हितैसी मध्यस्थ’ वा ‘बिचौलिया’ भूमिकामा सक्रिय हुने संकेत देखिएको छ। उम्मेदवारी फिर्ता गर्नुको कारण सार्वजनिक गर्दै भट्टराईले देशको राजनीतिक तरल अवस्था, पुस्तान्तरणको आवश्यकता र आफू बाहिर बसेर खेलेर पनि प्रभावकारी योगदान दिन सक्ने निष्कर्षमा पुगेको बताएका छन्। तर राजनीतिक वृत्तमा भने यो निर्णयलाई चुनावी समीकरण मिलाउने रणनीतिक चालका रूपमा हेरिएको छ।

भट्टराई गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ‘खुलेको आँखा’ लिएर उम्मेदवार बनेका थिए। मनोनयन दर्ता गरेपछि नै विभिन्न दलका शीर्ष नेताहरूले उनलाई चुनावी मैदानभन्दा बाहिर बसेर सहजीकरण गर्ने भूमिकामा आउन आग्रह गरेको बुझिएको छ। स्रोतका अनुसार नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले उनलाई अभिभावकीय भूमिकामा रहन दबाब दिएका थिए।

यही पृष्ठभूमिमा भट्टराईको उम्मेदवारी फिर्तालाई केवल व्यक्तिगत निर्णय मात्र नभई चुनावी समीकरण व्यवस्थापनको हिस्सा मानिएको छ। विशेषगरी रास्वपाका सभापति रवि लामिछानेले गोरखा–२ मा आफ्ना उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई सहयोग गर्न भट्टराईसँग आग्रह गरेको चर्चा राजनीतिक बजारमा चलेको छ। भट्टराई उम्मेदवारी फिर्ता लिएपछि रास्वपाका उम्मेदवारलाई अप्रत्यक्ष समर्थन गर्ने सम्भावनाले ‘हितैसीको बिचौलिया’ को भूमिकातर्फ उनी उन्मुख भएको विश्लेषण गरिएको छ।

यसअघि पनि भट्टराईले २०७९ को निर्वाचनमा गोरखाबाट उम्मेदवार नबनी प्रचण्डलाई समर्थन गरेका थिए। यसपटक पनि सुरुवातमा चुनाव नलड्ने संकेत गरेका भट्टराईले अन्तिम समयमा मनोनयन दर्ता गरेर फेरि फिर्ता लिनु राजनीतिक रणनीतिसँग जोडिएको देखिन्छ। गोरखा–२ मा अहिले नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन) र राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीजस्ता उम्मेदवार चुनावी मैदानमा छन्। यस्तो प्रतिस्पर्धात्मक अवस्थामा भट्टराईजस्तो प्रभावशाली व्यक्तित्वको समर्थन कसले पाउँछ भन्ने विषय निर्णायक बन्न सक्छ।

यद्यपि भट्टराईले औपचारिक रूपमा कसैलाई समर्थन गरेको घोषणा गरेका छैनन्। तर दलहरूबीच पुलको काम गर्ने, सहमति र सहजीकरणको भूमिका खेल्ने संकेत उनले आफ्ना अभिव्यक्तिमार्फत दिएका छन्। यसले उनी अब सांसद बन्ने प्रतिस्पर्धाभन्दा बाहिर बसेर चुनावी गणित मिलाउने, राजनीतिक सन्तुलन कायम गर्ने ‘अदृश्य खेलाडी’को भूमिकामा देखिने सम्भावना बलियो बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *