काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका केन्द्रिय सदस्य तथा पूर्व सहमहामन्त्री तथा बर्दिया–२ का उम्मेदवार किशोरसिंह राठोरले पार्टी विभाजनतर्फ नजाओस् भन्ने उद्देश्यले मात्रै चुनाव होमिनु परेको स्पष्ट कारण सार्वजनिक गर्दै अदालतको अन्तिम फैसला नै निर्णायक हुने बताएका छन् ।
राठोरका अनुसार विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले वैधानिकता दिए पनि त्यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ। “अदालतमा मुद्दा छ, टुंगो लागेको छैन। यस्तो अवस्थामा गगन थापालाई सभापति स्वीकारेको अवस्था नै छैन,” उनले भने, “तर पार्टी जोगाउन, लोकतन्त्र जोगाउन हामी यही पार्टीभित्र बसेर संघर्ष गरिरहेका छौँ।”
नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरिरहेका बेला कांग्रेस संस्थापन पक्ष अझै असन्तुष्ट छ। सानेपामा बस्ने केन्द्रीय समिति बैठकले गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदै चुनावी रणनीति तय गर्ने भनिए पनि त्यसप्रति कांग्रेस संस्थापन पक्षको समर्थन छैन। राठोर भन्छन्, “प्रधानमन्त्री को बन्ने भन्ने कुरा निर्वाचनपछि छलफल हुने विषय हो। अहिले त्यसलाई एकपक्षीय रूपमा अघि बढाइनु पार्टीभित्रकै विवादलाई थप चर्काउने काम हो।”
विशेष महाधिवेशनपछि बनेको कार्यसमितिले गरेको टिकट वितरणलाई राठोरले एकलौटी र असहमतिको संज्ञा दिएका छन्। देउवा, पूर्णबहादुर खड्का, शशांक कोइराला, रमेश लेखक, बालकृष्ण खाण, प्रकाशमान सिंह, आरजु देउवा राणा जस्ता शीर्ष नेताहरू चुनावी मैदानबाट बाहिर रहनु त्यसैको परिणाम भएको उनको भनाइ छ।
“हामीले टिकट पायौँ भनेर खुशी मान्ने अवस्था छैन,” राठोरले भने, “यो वितरण प्रक्रियामा हाम्रो सहमति छैन। यसको असर पर्छ कि पर्दैन, त्यो नतिजाले देखाउनेछ।” सभापति शेरबहादुर देउवा चुनाव नलड्नुको कारणबारे स्पष्ट पार्दै राठोरले भने, “उहाँले आफैँ चुनाव नलड्ने निर्णय गर्नुभएको हो। अदालतमा विचाराधीन मुद्दा भएकाले पार्टीको आन्तरिक लडाइँ बोकेर उहाँ र कार्यवाहक सभापतिले चुनाव नलड्ने निर्णय गर्नुभएको हो।” उनका अनुसार देउवाले चुनाव नलड्नु पराजयको डर होइन, बरु पार्टीभित्रको मुद्दा अन्तिम निष्कर्षसम्म पुर्याउने रणनीति हो।
‘विभाजित होइनौँ, बाध्य एकता हो’
कांग्रेस विभाजित मनस्थितिमा चुनावमा गएको हो कि भन्ने प्रश्नमा राठोरले अस्वीकार गरे। “अहिले देश, लोकतन्त्र र कांग्रेस संकटमा छन्। यस्तो बेला पार्टी फुटाउने विलासिता हामीसँग छैन,” उनले भने, “यो बाध्य एकता हो। आन्तरिक विवाद पछि व्यवस्थापन हुन्छ, अहिले चुनाव लड्नु जरुरी छ।” तर उनले चेतावनी पनि दिए—एकलौटी निर्णय र नेतृत्वको दम्भले दीर्घकालीन रूपमा पार्टीलाई क्षति पुर्याउन सक्नेछ। अन्ततः, किशोरसिंह राठोरको भनाइले कांग्रेसभित्रको यथार्थ चित्र देखाउँछ—चुनावी मैदानमा देखिने एकता सतहमात्र हो, भित्रभित्रै नेतृत्व र वैधानिकताको संघर्ष अझै सकिएको छैन। अदालतको फैसला र चुनावी नतिजाले नै कांग्रेसको आगामी दिशा तय गर्नेछ।




