राजनीति

आगामी निर्वाचनमा रास्वपाबाट अधिक कलाकर्मी, विकासे एजेण्डामा शून्य बहस

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनले नेपाली राजनीतिमा एउटा नयाँ प्रवृत्तिलाई सतहमा ल्याएको छ—कलाकर्मीहरूको उल्लेख्य उम्मेदवारी। चलचित्र, सङ्गीत, मोडलिङ र प्रस्तुति क्षेत्रमा चिनिएका अनुहारहरू यसपटक प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट चुनावी मैदानमा उत्रिएका छन्। तर, कलाकारको बढ्दो उपस्थितिसँगै विकास, अर्थतन्त्र र संरचनागत सुधारजस्ता मूल एजेण्डामा बहस कमजोर हुँदै गएको टिप्पणी पनि चर्किन थालेको छ।

यस निर्वाचनमा रास्वपाबाट अभिनेत्री निशा अधिकारी, आशिका तामाङ, र्‍यापर बालेन शाह, प्रस्तोता रीमा विश्वकर्मा, गायक–अभिनेता प्रकाश सपुत, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, र लोकगायक रमेश प्रसाईंजस्ता चर्चित कलाकर्मी उम्मेदवार बनेका छन्। राजनीतिमा लागेका कलाकारहरुले पछिल्लो समय मनोरञ्जन इमोसनल भाषण दिने गरेका छन्, तिर विकासको रोड म्यापबारे छलफल कमै छ । काठमाडौँ–५ बाट गतिशील लोकतान्त्रिक पार्टीकी तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेकी निशा अधिकारीले ‘वडा–वडामा दिगो रोजगारी’ लाई मुख्य मुद्दा बनाएकी छन्। सामाजिक अभियन्ताका रूपमा परिचित आशिका तामाङ भने धादिङ–१ बाट रास्वपाबाट प्रत्यक्ष उम्मेदवार बनेकी छन्। उनी दलगत सीमाभन्दा माथि उठेर राजनीति गर्ने दाबी गरे पनि पार्टीको टिकटबाटै चुनावी मैदानमा छिन्।

सबैभन्दा धेरै चर्चा भने रास्वपाले अघि सारेका उम्मेदवारहरूकै वरिपरि केन्द्रित छ। र्‍यापर बालेन शाह झापा–५ बाट प्रत्यक्ष उम्मेदवार बनेका छन् भने उनी नै रास्वपाका तर्फबाट प्रधानमन्त्रीका रूपमा प्रस्तुत पात्रसमेत हुन्। समानुपातिकतर्फ प्रकाश सपुत, अनुष्का श्रेष्ठ र रमेश प्रसाईंलाई समेटेर रास्वपाले ‘लोकप्रियता–आधारित राजनीति’ को बाटो रोजेको संकेत दिएको छ। रीमा विश्वकर्माको उम्मेदवारीले भने अवसरवादको आरोपसमेत जन्माएको छ। उज्यालो नेपाल पार्टी हुँदै रास्वपासम्मको उनको राजनीतिक यात्रा विचारभन्दा अवसर प्रधान भएको आलोचकहरूको भनाइ छ।

रोचक पक्ष के छ भने, कलाकर्मी उम्मेदवारको भीड हुँदाहुँदै पनि विकास, नीति र दीर्घकालीन योजनाबारे सार्वजनिक बहस कमजोर देखिएको छ। कलाकारको लोकप्रियता र सामाजिक प्रभावलाई राजनीतिक दलहरूले मत तान्ने साधनका रूपमा प्रयोग गरेको आरोप लाग्न थालेको छ। विशेषगरी रास्वपामाथि ‘एजेण्डाभन्दा अनुहार’ लाई प्राथमिकता दिएको टिप्पणी तीव्र छ।यसबीच, देशका ठूला र परम्परागत दलहरू—नेपाली कांग्रेस र नेकपा (माओवादी–समाजवादी)ले भने कलाकर्मीलाई प्रत्यक्ष वा समानुपातिक कुनै पनि तर्फ समेट्न सकेनन्। सबैभन्दा पुरानो र सांस्कृतिक रूपमा समृद्ध दल मानिने कांग्रेसले समेत कलाकर्मीलाई अवसर नदिनुलाई कांग्रेस निकट सांस्कृतिककर्मीहरूले निराशाजनक भनेका छन्। नेकपा एमालेबाट चर्चित गायिका कामल ओली रहेकी छन् ।

नेपाल सांस्कृतिक महासंघका पूर्वमहामन्त्री गणेश सुवेदीका अनुसार, कांग्रेसले विगतदेखि नै कलाकर्मीलाई उपेक्षा गर्दै आएको छ। युवा नेतृत्व आएपछि परिवर्तनको अपेक्षा गरिए पनि यसपटक पनि त्यो पूरा हुन नसकेको उनी बताउँछन्। समग्रमा, आगामी निर्वाचनमा कलाकर्मीहरूको उपस्थिति संख्या र चर्चाका हिसाबले उल्लेख्य भए पनि विकासे एजेण्डा, नीति र वैचारिक बहस कमजोर देखिनु लोकतान्त्रिक प्रक्रियाका लागि चिन्ताको विषय बनेको छ। लोकप्रिय अनुहारले मत तान्न सक्लान्, तर देश चलाउने स्पष्ट खाका नआएसम्म चुनाव केवल ‘सेलेब्रिटी शो’ मा सीमित हुने खतरा बढ्दै गएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *