देश

गगन थापाहरू आधिकारिक होइनन्, चोइटिएर गएका हुन् : डा. शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र भइरहेको विभाजनप्रति कडा प्रतिक्रिया जनाउँदै महामन्त्री गगन थापा समूहलाई आधिकारिक मान्न नसकिने स्पष्ट पारेका छन्।

बिहीबार पार्टीसम्बन्धी विकसित घटनाक्रमबारे प्रतिक्रिया दिँदै डा. कोइरालाले पार्टी विधान, परम्परा र संस्थागत निर्णयबाट बाहिर गएर गरिएका गतिविधिले स्वतः आधिकारिकताको मान्यता नपाउने बताए। उनका अनुसार विधान मिचेर गरिएको विशेष महाधिवेशन कुनै पनि हालतमा वैधानिक हुन सक्दैन।

“पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयलाई लत्याएर, आफ्नै तरिकाले संरचना बनाउनेहरू आधिकारिक हुँदैनन्,” उनले भने, “उनीहरू पार्टीबाट अलग्गिएर चोइटिएर गएका हुन्, कांग्रेस त्यहीँ छ जहाँ विधान छ।”

डा. कोइरालाले कांग्रेस जस्तो ऐतिहासिक दललाई व्यक्तिगत महत्वाकांक्षा र बहानाका आधारमा कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए। उनले पार्टीको मूल धारा जोगाउन नेता–कार्यकर्ताले संविधान र विधानको मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

उनका अनुसार अहिलेको विवाद व्यक्ति वा पदको होइन, पार्टीको वैधता, मूल्य र भविष्यसँग जोडिएको गम्भीर विषय हो। यसमा भ्रम सिर्जना गर्नु वा शक्ति देखाउने माध्यमबाट आधिकारिकता खोज्नु पार्टीका लागि घातक हुने उनको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *