काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा पार्टी विधानविपरीत भेला आयोजना गरिएको बताएका छन् । उनले यस्तो गतिविधिले पार्टीलाई अनावश्यक विवाद र विभाजनतर्फ धकेलेको टिप्पणी गरेका छन्। पार्टी विभाजनपछि सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले हालै निर्वाचन आयोगमा पुगेर पार्टीको वैधानिकतासम्बन्धी विषयमा गम्भीर ध्यानाकर्षण गराइएको जानकारी दिए। उनका अनुसार विधानले कुनै पनि तहको महाधिवेशन आयोजना गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै दिएको छ, अन्य कुनै समूहलाई होइन।
खड्काले पार्टीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको स्पष्ट पार्दै आगामी वैशाखमा महाधिवेशन गर्ने गरी सर्वसम्मत कार्यतालिका तयार गरिएको बताए। उनले भने, “हामी विधानअनुसार अगाडि बढिरहेका छौँ, महाधिवेशनको मिति र प्रक्रिया सबै केन्द्रीय समितिको निर्णयबाट तय गरिएको हो।”
उनले गगन थापाले क्रियाशील सदस्यताको विवरण समयमा बुझाउन नसक्दा अघिल्लो महाधिवेशन कार्यतालिका प्रभावित भएको दाबी गरे। त्यसैगरी, आफूहरूलाई जानकारी नदिई नियमित महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशन आह्वान गरिएको भन्दै खड्काले यसलाई विधानविपरीतको कदमको संज्ञा दिए। खड्काका अनुसार पार्टीलाई विधि र संस्थागत प्रक्रियामा फर्काउनु नै अहिलेको प्राथमिकता हो, न कि विधानबाहिरका भेला र गतिविधि।




