काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै अब आसन्न निर्वाचनमा केन्द्रित भएर कांग्रेसको ऐतिहासिक जिम्मेवारी पूरा गर्न सबै नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।
सार्वजनिक सन्देशमार्फत कोइरालाले कांग्रेसभित्र देखिएको विभाजनको दोष कसलाई दिने भन्ने बहसभन्दा पनि यो अवस्थाको वस्तुगत मूल्यांकन इतिहासले गर्ने बताएका छन्। “हामी सबै कहीँ न कहीँ चुकेका छौँ,” भन्दै उनले पार्टी एकता कायम गर्न नसकिएको अवस्थालाई गम्भीर आत्मसमीक्षाको विषय भनेका छन्।
पार्टीभित्र र बाहिर देखिएका अनेक अन्तरविरोध, षड्यन्त्र र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्वार्थका कारण कांग्रेस कमजोर बन्न पुगेको उनको संकेत छ। यद्यपि कांग्रेस एक भएर निर्वाचनमा जानुपर्छ भन्ने सबैको साझा चाहना रहे पनि त्यो सम्भव हुन नसकेको उनले स्वीकार गरे।
शेखर कोइरालाले यस कठिन घडीमा नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालालाई स्मरण गर्नुपर्ने बताएका छन्। विपीले कठिन परिस्थितिलाई ‘नियतिको खेल’का रूपमा लिने गरेको उल्लेख गर्दै वर्तमान अवस्थालाई पनि त्यही नियतिको कठोर सत्यका रूपमा बुझेको उनको भनाइ छ।
उनका अनुसार अहिले कांग्रेससामु सबैभन्दा ठूलो चुनौती आठ दशक लामो पार्टी इतिहासको गौरव जोगाउँदै निर्वाचनमा जाने हो। त्यसका लागि संगठनात्मक ऊर्जा पुनः जागृत गर्न आवश्यक रहेको भन्दै पार्टीभित्र एकता अपरिहार्य भएको उनले दोहोर्याए।
कोइरालाले कांग्रेस आम कार्यकर्ताले बनाएको पार्टी भएको उल्लेख गर्दै साझा इतिहास, साझा नेता र शहिदहरूको बलिदान नै पार्टीको प्रेरणा भएको बताए। “हामी यही पार्टीभित्र बसेर नेपालको भविष्य निर्माण गर्नुपर्छ,” उनको भनाइ छ।
नेपाली जनताले अघिल्ला निर्वाचनमा पार्टी विभाजनका बाबजुद कांग्रेसप्रति भरोसा नटुटाएको स्मरण गराउँदै उनले अब फेरि जनताको घरदैलोमा पुगेर समृद्धिको यात्राका लागि मत माग्नुपर्ने अवस्था आएको बताए।
समय सीमित भए पनि आफू सकेसम्म कांग्रेसको चुनावी अभियानमा कार्यकर्ताको घरआँगनसम्म पुग्ने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दै कोइरालाले पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया रोकिने छैनन् भनेका छन्। अन्त्यमा उनले सबैलाई ‘घर फर्कन’ र कांग्रेसभित्रै रहेर अघि बढ्न आह्वान गर्दै “यहाँ जित–हार कसैको होइन, हामी सबै मिलेर विन–विन अवस्थामा अघि बढ्न सक्छौँ,” भन्ने सन्देश दिएका छन्।





