राजनीति

विशेष महाधिवेशन प्रस्तावमा संस्थापनको कडा अडान, तीन बुँदा अस्वीकार

काठमाडौं ।  नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर जारी रस्साकस्सीका बीच संस्थापन पक्षले महाधिवेशन पक्षधरले पेस गरेको आठ बुँदे प्रस्तावमा औपचारिक प्रतिक्रिया दिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तावका केही मुख्य बुँदा स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् ।

खड्काका अनुसार आठ बुँदमध्ये तीन बुँदा पार्टीको संस्थागत संरचना र नेतृत्व मर्यादाविपरीत भएकाले अस्वीकार्य छन् । विशेषगरी महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्तावमा संस्थापन पक्ष सहमत हुन नसक्ने उनको जवाफ छ ।

त्यसैगरी सभापति शेरबहादुर देउवालाई निष्क्रिय भूमिकामा सीमित गर्ने प्रस्तावलाई पनि खड्काले खारेज गरेका छन् । उनले यस्तो प्रस्तावलाई पार्टी सभापतिको अपमानजनक बहिर्गमनको रूपमा स्वीकार गर्न नसकिने बताए ।

सहमति कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठन गर्ने प्रस्तावप्रति पनि संस्थापन पक्ष सकारात्मक देखिएको छैन । खड्काले यस्ता संरचनाले पार्टीभित्र समानान्तर शक्ति केन्द्र निर्माण गर्ने खतरा रहेको संकेत गर्दै असहमति जनाएका हुन् ।

संस्थापन पक्षको यस जवाफसँगै कांग्रेसभित्रको आन्तरिक विवाद थप स्पष्ट र तीव्र बन्दै गएको छ । अब दुवै पक्षबीच संवादबाट निकास ननिस्किए पार्टीको भविष्य थप अनिश्चित बन्ने संकेत देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *