राजनीति

विष पिउने भाषण र पार्टी फुट्ने यथार्थ, परिवर्तनकारी हैन अवसरवादी गगन र विश्व

काठमाडौं । नेपाली कांग्रेस आज इतिहासकै संवेदनशील मोडमा उभिएको छ । पार्टी जोगाउने जिम्मेवारी पाएका महामन्त्रीहरू स्वयं ‘पार्टी फुट्न दिन्नौँ’ भन्ने भावुक अभिव्यक्ति केहि दिनअघिसम्म दिइरेका थिए , तर उनीहरूकै कदम र अडानले कांग्रेसलाई विभाजनको दिशातर्फ धकेलिरहेको यथार्थ लुकाउन सकिने अवस्थामा छैन । महामन्त्री गगन थापाको ‘बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ’ भन्ने भनाइ र महामन्त्री विश्वप्रकाश शर्माको ‘पार्टी फुट्ने अवस्था आए म पहिलो बाहिरिन्छु’ भन्ने अभिव्यक्ति सुन्दा जो कोही कार्यकर्ता भावुक हुन सक्छ । तर सम्पादकीय दृष्टिले प्रश्न उठ्छ—यदि पार्टी फुट्न नदिने नै उद्देश्य हो भने किन विधान, संस्थागत निर्णय र बहुमतको मतलाई चुनौती दिने कदम चालिँदैछन् ?

पार्टी सभापति शेरबहादुर देउवाले देखाएको लचकता कांग्रेसको आन्तरिक राजनीतिमा दुर्लभ उदाहरण हो । हस्ताक्षर अधिकारदेखि नेतृत्व हस्तान्तरणसम्मका विषयमा खुला प्रस्ताव राख्दै ‘पार्टी नफुटाऊ’ भन्ने भावुक आग्रह गर्नु देउवाको कमजोरी होइन, राजनीतिक परिपक्वता हो । तर त्यो परिपक्वतालाई कमजोरी ठानिँदै छ भने कांग्रेसको भविष्य झनै जोखिममा पर्छ । केन्द्रीय कार्यसमितिको बहुमतले वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा त्यसलाई अस्वीकार गर्दै विशेष महाधिवेशनको नाममा अर्को शक्ति केन्द्र खडा गर्नु पार्टी सुधारभन्दा पनि शक्ति संघर्षको अभ्यासजस्तो देखिन्छ । जेन–जी आन्दोलनको हवाला दिँदै पार्टी जीवन्त बनाउने दाबी गरिए पनि अहिलेको प्रक्रिया जीवन्तताभन्दा अराजकताको संकेत दिन थालेको छ ।

राजनीतिमा भावना आवश्यक हुन्छ, तर संस्थाभित्र भावना मात्र पर्याप्त हुँदैन । कांग्रेस कुनै भावनात्मक क्लब होइन, यो इतिहास, विधान र लोकतान्त्रिक अभ्यासमा आधारित राजनीतिक संस्था हो । ‘म बाहिरिन्छु’, ‘विष पिउँछु’ जस्ता अभिव्यक्तिले समस्या समाधान गर्दैनन्, बरु जिम्मेवारीबाट भाग्ने संकेत दिन्छन् । आज कांग्रेसलाई चाहिएको नयाँ नाराभन्दा बढी संयम, संवाद र सहमति हो । यदि नेतृत्व तहले आफ्नो अडानलाई नै अन्तिम सत्य ठानेर अघि बढिरह्यो भने भोलि पार्टी फुटेपछि कसैले पनि “मैले रोक्न खोजेको थिएँ” भन्न पाउने नैतिक अधिकार रहने छैन ।

कांग्रेसको संकट व्यक्तिको होइन, प्रवृत्तिको संकट हो । र त्यो प्रवृत्तिलाई समयमै सच्याउन नसके इतिहासले कठोर फैसला गर्नेछ । महामन्त्री गगन थापा एक अवसवादी सोचका नेता हुन् ,विगतमा पनि विभिन्न अवसरकारका लागि विभिन्न नेताहरुको शरणमा पर्थे । इतिहासले होइन भन्न सक्ने अवस्था छैन् । अहिले जेनजीको लिडर बनेर पार्टीलाई टुक्रा–टुक्रा पार्ने रणनीति गगन थापाले नै बुनेका हुन् । पार्टी संकटको घडीमा पार्टीलाई टुक्रा पार्ने रणनीतिले लोकतन्त्रलाई बलियो बनाउन सक्दैन्,धुर्वीकरणको दिशमा अगाडी बढ्दा आगामी दिनमा देशले नै ठूलो दशा भोग्न्ुपर्ने अवस्था आउँछ । महामन्त्री गगन थापालाई विभिन्न युनिटका जेनजी आन्दोलका अभियान्ताहरुको हौसलामा पार्टी फुटाउने अभियानमा लागेका थापाको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *