राजनीति

गगन थापालाई एमाले सचिव बस्नेतको प्रश्न : संकटमा नेतृत्वमाथि प्रहार गर्नु नै बहादुरी हो ?

काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाको ‘लास र दास’ सम्बन्धी अभिव्यक्तिलाई लिएर नेकपा एमालेका सचिव महेश बस्नेतले तीव्र प्रतिवाद गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले संकटको समयमा पार्टी नेतृत्वको रक्षा गर्नु दासता हो कि नेतृत्वमाथि आक्रमण गर्नु नै वीरता हो भन्ने प्रश्न उठाएका छन्।

सोमबार फेसबुकमा लेखेको स्ट्याटसमा बस्नेतले गगन थापाको अभिव्यक्तिलाई कटाक्षपूर्ण शैलीमा लिँदै पार्टी र नेतृत्वविरुद्ध बोल्नु नै साहस ठान्ने प्रवृत्तिमाथि प्रश्न गरेका हुन्। “संकटको घडीमा पार्टी र नेतृत्वको रक्षा गर्नु दासता हो र पार्टी तथा नेतृत्वको खोइरो खनेर शत्रुको चाहना पूरा गर्नु वीरता हो ?” उनले लेखेका छन्।

बस्नेतले ‘लास’ र ‘दास’ को आरोपलाई स्मरण गराउँदै विगतका घटनासँग जोडेर थप प्रश्न उठाएका छन्। भदौ २३ र २४ पछि ‘गुलाम बनेर मानवीयता समेत भुलेको एउटा लास’ लाई आफूहरूले ‘आस र सास’ दिएको दाबी गर्दै उनले आज आएर त्यही समूहले आफूहरूलाई लास र दास नभएको भन्न थालेको बताए ।

उनले लेखेका छन्, “भदौ २३ र २४ पछि गुलाम बनेर मानवीयतासमेत भुलेको एउटा ‘लास’ लाई हामीले आस र सास भरिदिएपछि आज केही मास जम्मा गरेर भन्न थालेछन्—हामी लास र दास होइनौँ। इतिहासले अवश्य सोध्नेछ, यदि लास होइन भने आस र सास कसले भर्दियो ?”

बस्नेतको यो प्रतिक्रिया आइतबार गगन थापाले कांग्रेसलाई ‘लास र दासहरूको पार्टी होइन’ भन्दै कार्यकर्तालाई ‘बोल नबोल’ भनेर नियन्त्रण गरिने संस्कृतिको आलोचना गरेपछि आएको हो।

राजनीतिक बहस वैचारिक हुनुपर्ने ठाउँमा व्यक्तिगत कटाक्ष र विगतका घटनाको स्मरणमार्फत आरोप–प्रत्यारोपमा केन्द्रित हुँदै जानुले दलहरूबीचको तिक्तता झन् चर्किँदै गएको संकेत देखिन्छ। कांग्रेस–एमाले नेताबीचको यो वाकयुद्धले समसामयिक राजनीतिक बहसभन्दा बढी भावनात्मक र ध्रुवीकरणको स्वर लिन थालेको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *