काठमाडौं । नेपाली कांग्रेसका ४७ जिल्लाका सभापतिहरूले भेला तथा समारोहमा अल्मलिनु भन्दा संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रम, आसन्न प्रतिनिधिसभा निर्वाचन तथा सुरक्षा संवेदनशीलताजस्ता गम्भीर परिस्थितिमा राजनीतिक निकासका लागि नेपाली कांग्रेस एकताबद्ध भएर देखिएका चुनौतीहरूको सामना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको जिल्ला सभापतिहरूको भनाइ छ ।
‘यस गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस अन्य भेला र समारोहमा अल्मलिनु हुँदैन । संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भई फागुन २१ गते हुने निर्वाचनमा सक्रिय रूपमा केन्द्रित हुन सबैमा आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले पार्टीको १८ पुसमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट १५औँ नियमित महाधिवेशनको कार्यतालिका (२८–३१ वैशाख) तय भइसकेको र नियमित अधिवेशनको प्रक्रिया निरन्तर अघि बढिरहेको दाबी गरेका छन् ।
‘विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय तहमा मात्र रहेको वैधानिक व्यवस्था छ । साथै, विशेष महाधिवेशनका लागि उपयुक्त वातावरणसमेत नरहेकाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी एकता कायम राख्न वार्ता र संवादमार्फत पार्टी विभाजन रोक्न केन्द्रित हुन आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ ।
यी हुन् विशेषको विपक्षमा खुलेका प्रदेश र जिल्ला सभापतिहरू





