काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै परिस्थितिमा पनि पार्टीको एकता जोगाइने स्पष्ट पारेका छन् । साँच्चिकै अप्ठेरो अवस्था आए आफूले विष पिएर भए पनि कांग्रेसको एकता कायम राख्ने उनको भनाइ छ ।
कांग्रेस नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादका क्रममा महामन्त्री थापाले देशभरका कार्यकर्ता तथा शुभेच्छुकलाई आश्वस्त पार्दै पार्टी विभाजन नहुने बताएका हुन् । “पार्टी फुट्दैन, कसैले चाहेर पनि फुटाउन सक्दैन । साँच्चिकै अप्ठेरो अवस्था आयो भने बरु म आफैँ विष पिउँछु, तर पार्टीको एकता जोगाइराख्छु,” थापाले भने ।
उनले ‘जेन–जी’ आन्दोलनपछिको अवस्थामा युवापुस्ताले नेपाली कांग्रेसमाथि उठाएका प्रश्नहरू गम्भीर रहेको उल्लेख गर्दै ती प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिन पार्टी नेतृत्व चुकिरहेको स्वीकार गरे ।
“हाम्रो प्रयास पार्टीलाई समयानुकूल र सान्दर्भिक बनाइराख्नु हो । युवाका भावना सम्बोधन गर्न नसके पार्टी जीवन्त रहँदैन,” थापाले भने, “त्यसैले कांग्रेसलाई जीवन्त र भविष्य उन्मुख बनाउन खोजिरहेका छौँ ।”
विघटित प्रतिनिधिसभाका सदस्यसमेत रहेका तीन नेताबीच सो अवसरमा पार्टीको आन्तरिक जीवन, संगठन सुदृढीकरण र भावी दिशा सम्बन्धी विषयमा छलफल भएको थियो ।




