देश

जेनजी आन्दोलनमा बल प्रयोगबारे प्रधानमन्त्री–गृहमन्त्रीबाट कुनै आदेश दिएको थिएन् : रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायलाई बल प्रयोग गर्न प्रधानमन्त्री वा आफूले कुनै पनि किसिमको आदेश नदिएको स्पष्ट पारेका छन्।सोमबार जेनजी आन्दोलन छानबिनका लागि गठित जाँचबुझ आयोगसमक्ष बयान दिँदै लेखकले बल प्रयोगसम्बन्धी निर्णय राजनीतिक नेतृत्वबाट नभई फिल्डमा खटिएका सुरक्षा निकायले नै परिस्थितिको मूल्यांकन गरेर गर्ने बताएका हुन्।

आयोगलाई बुझाएको लिखित बयानमा लेखकले गृहमन्त्रीलाई बल प्रयोग गर्न निर्देशन दिने कुनै कानूनी अधिकार नभएको उल्लेख गरेका छन्। “गृहमन्त्रीलाई बल प्रयोग गर्ने वा नगर्ने विषयमा लिखित वा मौखिक आदेश दिने अधिकार कुनै पनि कानुनले दिएको छैन, र मैले त्यस्तो कुनै आदेश दिएको पनि छैन,” उनले बयानमा उल्लेख गरेका छन्।

उनका अनुसार प्रदर्शनका क्रममा कति बल प्रयोग गर्ने, कसरी गर्ने र कहिले गर्ने भन्ने निर्णय तत्कालीन अवस्थामा खटिएका सुरक्षा निकायले नै लिने व्यवस्था कानुनमै छ। प्रधानमन्त्री वा मन्त्रीले प्रत्यक्ष रूपमा यस्तो आदेश दिने न कानूनी आधार छ, न व्यवहारिक सम्भावना नै हुने लेखकको भनाइ छ।

“प्रधानमन्त्री वा मन्त्रीले ‘यति बल प्रयोग गर’ भनेर निर्देशन दिने कुरा हुँदैन,” लेखकले बताएका छन्, “शान्ति सुरक्षा कायम गर्ने क्रममा आवश्यक निर्णय तत्कालीन अवस्था, जोखिम र वस्तुगत आधारमा सुरक्षा निकायले नै गर्छ।” बल प्रयोगसम्बन्धी अधिकार स्थानीय स्तरमा तोकिएका पदाधिकारी र सुरक्षा संयन्त्रमै निहित रहेको उल्लेख गर्दै लेखकले राजनीतिक नेतृत्वले त्यसमा हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्।

जाँचबुझ आयोगमा पूर्वगृहमन्त्रीको बयान : प्रदर्शनमा बल प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको थिएँ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *