काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी छ। केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
कांग्रेसभित्र फेरि महाधिवेशनसम्बन्धी विवाद चर्किएको छ। पुस २६ देखि नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएपछि क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम पूरा हुन नसक्दा महाधिवेशन प्रभावित हुने अवस्था देखिएको हो।
नियमित महाधिवेशन सम्भव नदेखिएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको विकल्प नभएको अडान पुनः दोहोर्याएका छन्।
विशेष महाधिवेशन पक्षधर नेताहरूले हिजो स्मरणपत्रसमेत बुझाउँदै आफ्नो अडान नछाड्ने बताएका थिए। त्यसपछि जारी बैठकमा महाधिवेशनको विषय थप पेचिलो बनेको छ।
यही बैठकबाट महाधिवेशनसम्बन्धी विवाद टुंग्याउने दबाब पार्टी नेतृत्वमाथि बढेको छ। यसबाहेक बैठकमा आगामी निर्वाचनको तयारीका विषयमा पनि छलफल भइरहेको जनाइएको छ।




