देश

आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्तिहरूको उदयको प्रस्थानविन्दुको रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।

बिहीबार उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटन समारोहमा बोल्दै मन्त्री घिसिङले भने, “अहिले देशमा चुनावको माहोल बढि रहेको छ। जेनजी आन्दोलनबाट सरकार स्थापनाको प्रक्रिया अघि बढेको छ। यसको मुख्य दायित्व भनेको चुनाव गर्नु हो। फागुन २१ को चुनाव केवल चुनावको रूपमा होइन, नयाँ शक्तिहरूको उदयको प्रस्थानविन्दु पनि हुनुपर्छ। यसतर्फ सबैले अगाडि बढ्नुपर्छ।”

उनले जेनजी आन्दोलनको उद्देश्य देशमा सुशासन स्थापना, रोजगारी सिर्जना र समृद्धि सुनिश्चित गर्नु रहेको भन्दै, “यदि आन्दोलनको परिणाम सकारात्मक आएन र देश फेरि पूरानै अवस्थामा फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु हुन सक्दैन,” भने।

मन्त्री घिसिङले सबै देशभित्र र देशबाहिरका नेपालीहरूले एकताबद्ध भएर नयाँ शक्ति र नेतृत्व अगाडि बढाउनुपर्ने जोड दिए। उनले भने, “देशलाई माथि वा समृद्धितर्फ लैजान आजको आवश्यकता नयाँ पुस्ता, युवा र नयाँ शक्तिहरूको एकताबद्ध अगाडि बढाइमा छ। जसले देशमा केही गर्न सक्दो काम गरिरहेका छन्, उनीहरू सबै एक भएर अघि बढ्नुपर्छ।”

फागुन २१ को चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई देशको भविष्य तय गर्ने अवसर हो, जसले नयाँ नेतृत्व र शक्तिहरूको उदयलाई प्रोत्साहन दिनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *