काठमाडौँ । नेपाली काँग्रेसका सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पेस गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ ।
विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका श्याम घिमिरेसहित ७ जनाका तर्फबाट पेश गरिएको रिटमाथि आज संबैधानिक इजलासमा सुनुवाई हुन लागेको हो ।
मङ्सिर २३ गते दर्ता भएको यस रिटको सुनुवाई प्रधान्यायाधिश प्रकाशमान सिंह राउत, न्यायाधिशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोज कुमार शर्मा र नहकुल सुवेदीको संबैधानिक इजलासमा पेसी तोकिएको छ ।
योसँगै सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी दुईवटा राजनीतिक दल अनि सार्वजनिक सरोकारअन्तर्गत १७ रिट दर्ता भएर विचाराधीन छन् । यस अघि नेकपा एमाले र अन्य १७ थान निवेदनमा पहिलो सुनुवाइ भइसकेको छ । सर्वोच्चले यसअघि दर्ता भएका सबै रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरिसकेको छ । कांग्रेसका तर्फबाट पेस भएको रिट पनि दर्ता भएर पहिलो सुनुवाइ हुँदै लगाबमा राखिने भएको छ । सर्वोच्चले यी सबै निवेदनलाई एकैपटक सुनुवाइ गरेर किनारा लगाउन सक्ने देखिएको छ ।




