राजनीति

नेकपा एमाले ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि दुई प्रतिस्पर्धी,ओली नै पुनः अध्यक्षमा आउने निश्चित

काठमाडौं। नेकपा एमालेको एघारौं महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच प्रत्यक्ष प्रतिस्पर्धा सुरु भएको छ। दुवै समूहले आफ्नो–आफ्नो पदाधिकारी प्यानल करिब टुंग्याएका छन् र मतदान प्रक्रिया नजिकिँदै गर्दा महाधिवेशन रोचक र प्रतिस्पर्धात्मक बनेको छ।

ओली समूहले अध्यक्षमा ओली, महासचिवमा शंकर पोखरेल, उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम पक्का गरेको छ। उपमहासचिवमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठ फाइनल छन् भने सचिवमा नौ जनाको नाम टुंगो लागेको छ।

त्यस्तै, ईश्वर पोखरेल समूहले अध्यक्षमा पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डे, उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल, उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरी, सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेलसहित अन्यको नाम लगभग टुंगो लागेको छ।

स्रोतका अनुसार दुवै समूहमा अधिकांश उम्मेदवारको नाम पक्का भए पनि केही पदमा छलफल अझै जारी छ, जसले गर्दा सूचीमा सानो–ठुलो परिवर्तन हुन सक्ने सम्भावना रहेको छ।

महाधिवेशन स्थलमा उपाध्यक्ष पदका दाबेदार पृथ्वीसुब्बा गुरुङले भने, “अब सहमतिको ढोका बन्द भइसकेको छ। हामीले केपी ओलीकै नेतृत्व चाहेका छौँ। एमालेलाई अझै शक्तिशाली बनाउन उहाँको नेतृत्व आवश्यक छ।”

ओली समूहका सचिव पद उम्मेदवार महेश बस्नेतले पनि सहमतिको प्रयास असफल भएपछि प्यानल बन्ने अवस्था आएको बताएका छन्। उनले भने, “ओली र पोखरेलबीच सहमति नमिलेपछि अब सबै कुरा चुनावी प्रतिस्पर्धाबाट तय हुनेछ। हामी स्वस्थ प्रतिस्पर्धामा प्रतिबद्ध छौँ।”

उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले व्यक्तिगत रुपमा उम्मेदवारी दिएको स्पष्ट पार्दै, समूहगत प्यानल नबनाउने बताए। उनले विधान संशोधनप्रति असहमति जनाउँदै समीक्षा आगामी दिनमा हुने जानकारी दिए। भट्टराईले भने, “संख्या बढाउनुभन्दा मन मिलाउनुपर्छ। पार्टीभित्र मन मिलाउनेतिर लाग्नुपर्छ, संख्या मात्र बढ्दा पार्टीको अस्तित्व जोखिममा पर्छ।”

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ भने पदाधिकारीको १० हजार, अन्य केन्द्रीय पदाधिकारीको ५ हजार निर्धारण गरिएको छ। मतदान पुस १ गते बिहान ११ बजेबाट साँझ ६ बजेसम्म हुनेछ। आगामी कार्यकालका लागि १९ जना पदाधिकारी निर्वाचन हुने व्यवस्था गरिएको छ र सबै पदमा निर्वाचन पक्का छ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने, “मेरो उम्मेदवारी पार्टीलाई सामूहिक नेतृत्व, विधि र पद्धति ठिक ढङ्गले चलाउनका लागि हो। आन्तरिक प्रतिस्पर्धा स्वाभाविक छ र यसले पार्टीको स्वस्थ विकासमा मद्दत गर्छ।”

यसरी, ओली र पोखरेल दुवैले प्यानल बनाएर चुनावी मैदानमा होमिँदा अध्यक्ष पदमा निर्णायक प्रतिस्पर्धा सुरु भएको छ। नयाँ नेतृत्व चयनसँगै एमालेको संगठन संरचना र आगामी कार्यकालको दिशा निर्धारण हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *