राजनीति

नेकपा एमालेको ११ औँ महाधिवेशन ऐतिहासिक, अध्यक्षमा ओलीलाई सबैको साथ

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन केवल औपचारिक नेतृत्व चयनको प्रक्रिया मात्र रहेन, यो पार्टीको विगत, वर्तमान र भावी दिशालाई एकैसाथ जोड्ने राजनीतिक प्रदर्शनसमेत बन्यो। भक्तपुरको सल्लाघारीमा आयोजित भव्य उद्घाटन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले दिएको लामो र भावनात्मक सम्बोधनले महाधिवेशनलाई ‘ऐतिहासिक’ बनाएको एमाले नेताहरूको दाबी छ।एमाले महाधिवेशनमा ऐतिहासिक प्रर्दशन समेत भयो । यसले एमालेले देश र जनताको अधिकार स्थापित गर्ने संस्थाका रुपमा चित्रण भएको छ । एमाले महाधिवेशनमा अध्यक्ष ओलीले सार्वजनिक गरेका धारणामा सबैका साथ छ । राष्ट्रवादी नेतामा चित्रित भएका नेतालाई पुनः एक पटक अध्यक्षमा निर्वाचित गर्नुपर्ने आवाज सबैले उठाए । केही एमाले प्रतिनिधिहरुले ओलीको विरोध जनाए पनि अधिकतम एमाले नेता तथा कार्यकर्ताहरुको क्रेज ओली नेतृत्व क्षमतामाथि देखियो ।

धुवाँ, खरानी, निषेध र संकटका बीच पनि एमाले जनसागर बनेर उपस्थित भएको उल्लेख गर्दै ओलीले आफ्नो भाषणको सुरुवात गरे। उनले लोकतन्त्रलाई अजेय र एमालेलाई ‘अजम्मरी शक्ति’का रूपमा चित्रित गरे। तीन महिनाअघि भएको जेन–जी आन्दोलन, त्यसपछिका राजनीतिक उथलपुथल र सरकार परिवर्तनको घटनाक्रमलाई केन्द्रमा राख्दै ओलीले पार्टीमाथि भएको प्रहार, त्यसको सामना र एमालेको पुनःउभारलाई मुख्य विषय बनाए।

यस महाधिवेशनको एउटा उल्लेखनीय पक्ष भनेको अध्यक्ष ओलीप्रति देखिएको सर्वसम्मत समर्थन हो। नेतृत्व चयनको पूर्वसन्ध्यामा नै पार्टीभित्र अध्यक्षका रूपमा ओलीको विकल्प नदेखिएको, बरु ‘एकताका सूत्रधार’का रूपमा उनलाई अघि सारिएको सन्देश महाधिवेशनस्थलबाट स्पष्ट देखियो। नेताहरूका अनु्सार, लामो राजनीतिक संकट र आन्दोलनकाबीच ओली नै पार्टीलाई सुरक्षित राख्न सक्ने पात्रको रूपमा स्थापित भएका छन्।

महाधिवेशनमा ओलीको सन्देश :

ओलीले आफ्नो लामो मन्तव्यमा पार्टी र देशलाई लक्षित गर्दै एकतात्मक र सकरात्मक सन्देश प्रवाह गरेका छन्, जसलाई एमालेभित्र ‘सल्लाघारी सन्देश’ भनेर व्याख्या गर्न थालिएको छ। ती सन्देशहरू मूलतः राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, युवापुस्ता, जेन–जी आन्दोलन, विदेशी हस्तक्षेप, राज्यसत्ता, चुनाव, एकता र भविष्यको बाटोमा केन्द्रित थिए।

उनले एमाले आफूलाई राष्ट्रियताको पहरेदार, लोकतान्त्रिक आन्दोलनको अग्रपंक्तिको शक्ति र सामाजिक सुरक्षाको ‘पायोनियर’ भएको दाबी गरे। सामाजिक सुरक्षा भत्तामार्फत ३८ लाखभन्दा बढी नागरिकले राज्यको प्रत्यक्ष अनुभूति गरेको उल्लेख गर्दै ओलीले यो उपलब्धिलाई एमालेको राजनीतिक पहिचानसँग जोडे।

गाउँमुखी विकास, ठूला पूर्वाधार, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक वृद्धि एमाले नेतृत्वको सरकारकै देन भएको दाबी पनि उनले दोहोर्‍याए। उनका अनुसार, यिनै कारण एमाले आज पनि जनताको मन–मुटुमा बसेको छ।

ओलीको भाषणको अर्को ठूलो हिस्सा एमालेमाथि भएको ‘निरन्तर प्रहार’को व्याख्यामा केन्द्रित रह्यो। उनले सानो देशले सार्वभौम अधिकारको प्रयोग गर्दा केही शक्तिहरूलाई मन नपर्ने गरेको संकेत गरे। भारत र चीनको नाम नलिए पनि छिमेकी तथा अन्तर्राष्ट्रिय शक्तिहरूको असन्तुष्टितर्फ संकेत गर्दै ओलीले भूपरिवेष्ठित मुलुकलाई भू–जडित बनाउने प्रयास, उत्तर–दक्षिण कनेक्टिभिटी र सीमा सुरक्षाका विषयले बाह्य दबाब बढाएको बताए। खयरको बोटमा ढुंगा हानिँदैन, फल लाग्ने आँपको बोटमै ढुंगा हानिन्छ,’ भन्ने उखान प्रयोग गर्दै ओलीले एमालेमाथि हुने प्रहारलाई पार्टीको शक्ति र प्रभावको प्रमाणका रूपमा व्याख्या गरे।

भदौ २३ र २४ को जेन–जी आन्दोलन ओलीको भाषणको केन्द्रमा रह्यो। उनले उक्त आन्दोलन सरकार परिवर्तनका लागि मात्र नभई राज्यको मेरुदण्ड नै भाँच्ने योजनासहित भएको दाबी गरे। संविधान, संसद्, अदालत र प्रशासनमाथि एकसाथ आक्रमण भएको उनको विश्लेषण थियो। सो विषयलाई देशभरीका लोकतान्त्रिक शक्तिले प्रशंसा गरेका छन् ।

तर, यसै क्रममा ओलीले पहिलोपटक खुलेर आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे। आन्दोलनमा सहभागी युवाहरूका जायज माग— सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालको स्वतन्त्रता—प्रति असहमति नरहेको स्पष्ट पार्दै उनले ती मागलाई हिंसात्मक तत्वहरूले दुरुपयोग गरेको बताए ।

राजीनामा, आगजनी र ‘महाविनाश’

ओलीले आफूले राजीनामा दिएपछि नै देशव्यापी आगजनी र तोडफोड भएको बताए । राष्ट्रपतिको भवनदेखि सिंहदरबारसम्म, पार्टी कार्यालयदेखि निजी सम्पत्तिसम्म एकैसाथ आक्रमण हुनु सामान्य घटना नभई योजनाबद्ध ‘महाविनाश’ भएको उनको निष्कर्ष थियो। ओलीले उल्लेख गरेका र उठाएका विषयलाई सम्झेर विश्लेषण गर्दै सबै नेता तथा कार्यकताहरु मन्त्रमुक्त भए ।

महाभारतको लाक्षागृह प्रसंग जोड्दै उनले आफू सुरक्षित स्थानमा बसेको विषयलाई आलोचना गर्नेहरूलाई जवाफ दिए। ‘आगो बाल्ने दोषी कि आगोबाट बच्ने?’ भन्ने प्रश्नमार्फत उनले आफ्नो कदमको बचाउ गरे। ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अनधिकृत निर्णय भन्दै पुनःस्थापनाको माग दोहोर्‍याए। यद्यपि, उनले एमाले चुनावबाट नभाग्ने स्पष्ट सन्देश पनि दिए। डर, दबाब र प्रतिशोधमुक्त वातावरण बने एमाले बहुमत ल्याउन सक्षम रहेको उनको दाबी थियो।

एमाले जेन–जी विरोधी नभएको दाबी गर्दै ओलीले युवापुस्तालाई संवाद र सहकार्यको प्रस्ताव गरे। असहमति, आलोचना र प्रश्नलाई स्वागत गर्ने तर हिंसा र विध्वंसलाई अस्वीकार गर्ने उनको सन्देश थियो। युवालाई पार्टी संरचनामा अघि सार्ने, प्रविधि र नवप्रवर्तनलाई प्राथमिकता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

लामो भाषणको अन्त्यमा ओलीले महाधिवेशनलाई एकताको प्रतीकका रूपमा व्याख्या गरे। ‘एघार’ अंकलाई दुई ‘एक’को एकता भनेर चित्रण गर्दै उनले एमालेभित्रको एकता नै राष्ट्रिय सुरक्षाको आधार भएको तर्क गरे। यस अर्थमा ११औँ महाधिवेशन केवल नेतृत्व चयनको मञ्च होइन, ओली नेतृत्वमा एमाले पुनःकेन्द्रित हुने, विगतका संकटलाई राजनीतिक कथामा रूपान्तरण गर्ने र भविष्यका लागि एकीकृत शक्ति प्रदर्शन गर्ने अवसर बन्यो।

राजनीतिक विश्लेषकहरूका अनुसार, सल्लाघारीबाट ओलीले दिएको सन्देश महाधिवेशनभन्दा बाहिर, राष्ट्रिय राजनीतिलाई लक्षित थियो। अब प्रश्न एउटै यसपटक अध्यक्षमा निर्वाचित भएपछि ओलीले देशलाई कांग्रेसलाई समेत मिलाएर देशलाई पुनः रङ्गीचङ्गी बनाउने अपेक्षा गरिएको छ । एमालेमाथि चौतर्फी भएको विरोधका विरुद्ध नेपाली कांग्रेस,नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको रोडम्यापसँग मेल खानेगरी उनले पनि निर्वाचनअघि नै सर्वपक्षीय सरकार बन्नुपर्ने जिकिर गरेका हुन् । उनले नेकपा एमालेमाथि भएको चौतर्फी हमलाप्रति विरोध जनाउँदै नेकपा एमालेलाई आफूले साथ दिने बताए । यस्तै नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक रहेको बताएकी छन्। नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफूहरू इतिहासको साक्षी बन्न मात्र नभई जिम्मेवारीपूर्ण भविष्य र राष्ट्रहितको साझा संकल्प बोकेर उपस्थित भएको उल्लेख गरिन्। विशेषगरी नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई विश्वसामु स्थापित गर्न नेकपा एमालेले खेलेको भूमिका र देखाएको नेतृत्व अत्यन्तै प्रशंसनीय रहेको भन्दै उनले यसको खुलेर प्रशंसा गर्नुपर्ने बताइन्। उनले भनिन्,‘विशेषगरी नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई विश्वसामु स्थापित गर्न नेकपा एमालेले खेलेको भूमिका र देखाएको नेतृत्व एकदमै प्रसंसनिय छ। यो कुराको प्रसंसा हामी सबैले गर्नैपर्छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *