राजनीति

आयोगले बयानका लागि अध्यक्ष ओलीलाई बोलाएको कुरा स्वाभाविक, आयोगमाथिका प्रश्नमा चुप लाग्दैनौँ : उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिनु पर्ने बताएका छन्। पार्टीको ११औं महाधिवेशनको पूर्वसन्ध्यामा बुधबार सम्पादकहरूसँगको अन्तरसंवादमा पोखरेलले आफू भए बोलाउनु अघि नै उपस्थित हुने बताएका हुन्।

उनका अनुसार, सरकारले बनाए पनि आयोगप्रति असहमति राख्न सकिन्छ तर बोलावट भने अस्वाभाविक होइन। पोखरेलले भने, “आयोगले बोलाएको कुरा स्वाभाविक हो। म भए त अझै पहिले नै गएर बयान दिन्थेँ। अवज्ञा गर्नु राम्रो हुँदैन।”

आयोगको निष्पक्षताबारे सवाल गर्नुपर्ने ठाउँ रहे पनि प्रक्रिया मान्नुपर्ने उनको तर्क थियो।
“२३ र २४ गतेको आन्दोलनपछि एउटा धार लिएर उभिएका व्यक्तिलाई आयोगको अध्यक्ष बनाइयो। यस्तो अवस्थामा को प्रश्न उठ्छ,” पोखरेलले भने, “तर त्यसले बयान दिन नजाने बहाना बन्नु हुँदैन।”

उनी थप्छन्, “तथ्य, विचार र आफ्ना तर्क प्रस्तुत गर्न हामी तयार हुनुपर्छ। मेरो बुझाइमा अध्यक्ष ओली पनि बयान दिन जानुहुनेछ।” पोखरेलको भनाइले महाधिवेशनको पूर्वसन्ध्यामा एमालेभित्र नेतृत्वको निर्णय शैली, कार्यशैली र संवैधानिक निकायप्रति व्यवहारका विषयमा चलिरहेको बहस झनै तातिएको देखिन्छ।

पार्टीभित्रको स्वतन्त्रता र लोकतन्त्र सुदृढीकरणको आवाज महाधिवेशनमा उठाउँछौँ : उपाध्यक्ष पोखरेल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *