राजनीति

डडेल्धुराबाट निर्वाचन लड्ने बचनपछि सभापति देउवालाई भेट्नेको भिड्

काठमाडौं । प्रतिनिधिसभा चुनाव नजिकिंदै कांग्रेसभित्र टिकट सिफारिसको दौड तीव्र बनेको छ। सुदूरपश्चिम प्रदेशका १६ क्षेत्रमध्ये केही स्थानमा नाम टुंगिएकाले सूची जिल्लातर्फ पुगिसकेको छ भने कतिपय ठाउँमा अझै बैठक बस्न बाँकी छ।

सबैभन्दा धेरै क्षेत्र भएको कैलालीका पाँचै क्षेत्रबाट आकांक्षीहरूको नाम सिफारिस भइसकेको छ। कैलाली–५ मा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित चारजनाको नाम अघि बढाइएको छ। प्रदेश महामन्त्री नरनारायण शाह मनु, अघिल्लो विजेता डिल्लीराज जोशी र पूर्वमेयर नृप वड पनि प्रतिस्पर्धामा छन्। यहाँ आरजुलाई सशक्त दाबेदारका रूपमा नेताहरूले चित्रित गरेका छन्।

कैलाली–४ बाट साविक विजेता वीरबहादुर बलायरदेखि टेकराज जोशी, लोकराज पाण्डे ‘आगो’, नैनसिंह महर, विजय कुँवर र भुवन महरासहित सातजनाको नाम सिफारिस भएको छ। ३ नम्बर क्षेत्रमा खेमराज डगौरा थारु, अविनाश चौधरी, भीमबहादुर बडूवाल र झंकरबहादुर शाह अगाडि सारिएका छन्। २ नम्बर क्षेत्रबाट सबैभन्दा धेरै आकांक्षीको नाम आएको छ, जहाँ कृष्णराज पाण्डेमात्र होइन, नवराज उपाध्यायदेखि मोहनसिंह राठौरसम्म सूचीमा परेका छन्। १ नम्बर क्षेत्रबाट पाँचजनाको नाम केन्द्रमा पठाउने तयारी गरिएको छ।

यता कञ्चनपुरका तीनै क्षेत्रमा भने उमेदवारको छनोट हुन सकेको छैन। क्षेत्रगत बैठक नबसेकाले नाम सिफारिस रोकिन पुगेको जिल्ला उपसभापति मीनबहादुर सिंहले बताए।

डडेल्धुरामा देउवा ‘एक्लो आकांक्षी’—भेट्न पुग्नेहरूको घुइँचो

एक मात्र निर्वाचन क्षेत्र भएको डडेल्धुरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पुनः उम्मेदवार बन्ने संकेत स्पष्ट बनेपछि उनलाई भेट्न नेता–कार्यकर्ताको भीड बढेको छ। मंगलबार कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद, गन्यापधुराका अध्यक्ष इन्द्रबहादुर कार्की, उपाध्यक्ष ज्ञानु सेठी देउवा, परशुरामका मेयर भरत बडायरलगायतका स्थानीय नेता देउवासँग भेटघाटमा पुगेका थिए। भेटका क्रममा देउवाले “जनताको इच्छा भए अन्तिमपटक चुनाव लड्छु” भन्ने संकेत गरेको सभापति साउँदले बताए।

“डडेल्धुराका जनताले उहाँको सम्मानजनक बिदाइ चाहेका छन्,” साउँदले भने, “त्यसैले हामीले उहाँलाई पुनः उम्मेदवार बन्न अनुरोध गर्यौं।” जिल्ला समितिले देउवाकै एकल नाम सिफारिस गर्ने तयारी गरिरहेको छ। देउवा डडेल्धुराबाट सात पटक लगातार संघीय निर्वाचन जितिसकेका छन्—२०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ मा।

प्रदेश समितिले फागुन २८ र २९ मा जिल्लाबाट आएका नामबारे छलफल गर्नेछ। केन्द्रले तीन नाम मात्र मागे पनि सबै नाम पठाउने कि छानिएको सूची पठाउने भन्नेबारे प्रदेश स्तरमै टुंगो लगाइने प्रदेश महामन्त्री नरनारायण शाह मनुले बताए। २७ गतेभित्र सबै नाम प्रदेशमा पुग्नेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *