देश

जेन–जी आन्दोलन : ७४ जनालाई जेल चलान, ९२ जनाले हाजिरी जमानीमा रिहा

काठमाडौं । जेन–जी आन्दोलनका नाममा देशभर देखिएको उग्र प्रदर्शनपछि कानुनी कारबाही तीव्र बन्दै गएको छ। विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म ७४ जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ भने ९२ जनालाई दैनिक हाजिरी जमानीमा रिहा गरिएको छ।

टीओबी लेखिएको पोशाकसहित प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका तेञ्जिङ दावालाई काठमाडौं जिल्ला अदालतले मंगलबार ५ लाख २० हजार धरौटीमा रिहा गरेको थियो। उनी यस किसिमको मुद्दामा धरौटी पाउने पहिलो व्यक्ति होइनन्—जेन–जी आन्दोलनका घटनामा संलग्न ८५ जनाले अहिलेसम्म धरौटीमा छुट पाइसकेका छन्।

जिल्ला प्रहरी परिसरका अनुसार हाल ४५ जना प्रहरी हिरासतमा छन्। हाजिरी जमानीमै छुटेका ९२ जनासहित १३७ जनामाथि छानबिन चलिरहेको छ। हातहतियारसहित पक्राउ परेकामध्ये १८ जनालाई पनि हाजिरी जमानीमा छोडिएको प्रहरीले जनाएको छ।

उक्त आन्दोलनका क्रममा महाराजगञ्ज र कोटेश्वर क्षेत्रमा ३ प्रहरीको ज्यान गएको थियो। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका १५ जनालाई अदालतले पुर्पक्षका लागि जेल चलान गरिसकेको छ। यस्तै, विभिन्न प्रहरी कार्यालयबाट हातहतियार लुटपाट तथा लुकाएको आरोपमा पक्राउ परेका १६ जनासमेत कारागारमै छन्।

मतियारीको भूमिकासहित ज्यान मार्ने उद्योग मुद्दामा एक व्यक्ति पुर्पक्षमा छन्। डाँका चोरी मुद्दामा पक्राउ परेका दुई जनामाथि भद्रकाली प्रहरी परिसरमा अनुसन्धान जारी छ।

  • कारागार चलान भएका ७४ जनाको विवरणस्
    – आपराधिक उपद्रवः ३७
    – हातहतियारः १६
    – चोरीः ३
    – कर्तव्य ज्यानः १५
    – ज्यान मार्ने उद्योगः १
  • धरौटीमा छुटेकाहरू (८५ जना)
    – आपराधिक उपद्रवः ५३
    – चोरीः १२
    – अभद्र व्यवहारः २
    – अन्य मिश्रित मुद्दाः बाँकी

प्रहरी हिरासतमा अहिले पनि ८५ जना छन्, जसमा ५३ जना आपराधिक उपद्रव, ११ हातहतियार, २ चोरी, १ ज्यान मार्ने उद्योग र २ जना डाँका चोरीका आरोपी छन्।

प्रहरीका अनुसार हाजिरी जमानीमा रिहा गरिएका ९२ जनामध्ये आपराधिक उपद्रवका ६७, हातहतियारका १८, चोरीका ४, अभद्र व्यवहारका २ तथा अन्य मिश्रित मुद्दाका केही व्यक्ति छन्।

एक–एकजनालाई सरकारी वकिलको रायसहित मुद्दा नचलाउने आधारमा रिहा गरिएको छ भने अभद्र व्यवहारका एक जनाले अदालतबाट सफाइ पाएका छन्। आपराधिक उपद्रव मुद्दामा ७ जनालाई साधारण तारेखमा रिहा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *