काठमाडौं । भन्सार ऐनका ‘अव्यवहारिक र अन्यायपूर्ण’ व्यवस्थाको विरोधमा भन्सार एजेन्ट महासङ्घले सुरु गरेको आन्दोलन आजदेखि देशभर तीव्र बनेको छ। महासङ्घको आह्वानपछि सबै भन्सार कार्यालयमा जाँचपास सेवा पूर्ण रूपमा रोकिएपछि आयात–निर्यात गतिविधि ठप्प भएका छन्।
महासङ्घले लामो समयदेखि भन्सार ऐनका केही प्रावधान संशोधन गर्न माग गर्दै आएको थियो। तर निरन्तरको प्रयास र लबिङबाट पनि सरकारले गुनासोसमेत नसुनेपछि अन्ततः जाँचपास अवरुद्ध गर्ने बाध्यता आएको महासङ्घका केन्द्रीय सदस्य उमेश घिमिरेले बताए।
उनका अनुसार नयाँ ऐनमा रहेको दफा ७१ (झ) मा—विद्युतीय प्रणालीमा कागजात अपलोड गर्दा सामान्य त्रुटि भए पनि जरिवाना लाग्ने प्रावधान—सबैभन्दा विवादास्पद मानिएको छ। साथै भन्सार कार्यालयहरूमा देखिने सर्भरसम्बन्धी समस्या र पेशागत अधिकार संरक्षणप्रति बेवास्ता गरिएको आन्दोलन चर्कन बाध्य भएको महासङ्घको भनाइ छ।
महासङ्घले चरणबद्ध आन्दोलन अन्तर्गत सोमबार वीरगञ्ज भन्सारमा पेनडाउन सुरु गरेको थियो। तर माग सम्बोधन नभएपछि आजबाट देशभरका भन्सार कार्यालयका सबै सेवा रोक्दै आन्दोलनलाई विस्तार गरिएको घिमिरेले जानकारी दिए।
भन्सार जाँचपास पूर्ण रूपमा अवरुद्ध भएपछि देशभर आयात–निर्यात कार्य ठप्प भई व्यापारिक चहलपहलमा व्यापक असर परेको छ।




