देश

मेडिकल काउन्सिल सुधार्ने उपाध्यक्षका उम्मेदवार डा. शाहको प्रतिबद्धता

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको आगामी निर्वाचन नजिकिदैँ गर्दा उपाध्यक्ष पदका उम्मेदवार डा. गुरुशरण शाहले काउन्सिललाई पारदर्शी, प्रविधिमैत्री र जनमुखी संस्था बनाउने लक्ष्य प्रस्तुत गरेका छन्। ४ पुसबाट सुरु हुने निर्वाचनमा उपाध्यक्षका तीन र सदस्यका ३३ उम्मेदवार प्रतिस्पर्धामा छन्।

डा. शाहका अनुसार काउन्सिलको दर्ता प्रक्रिया, लाइसेन्स परीक्षा, तथा निरन्तर व्यावसायिक तालिम (सीपीडी) अझै सुधारिनुपर्ने संवेदनशील क्षेत्र हुन्। ‘‘रजिस्ट्रेसन प्रक्रियादेखि सीपीडी वितरणसम्म, धेरै काम प्रविधिमैत्री बनाउनैपर्छ,’’ उनले बताए।

शाहले काउन्सिलमा राजनीतिक दबाब प्रभावशाली रूपमा नचल्ने दाबी गर्दै उजुरी छिनोफानो निष्पक्ष हुने उल्लेख गरे। ‘‘निर्णय ढिलो हुन सक्छ, तर चिकित्सकलाई बचाइदिने आरोप सही हैन,’’ उनले भने, ‘‘जरुरी परे लाइसेन्स निलम्बनदेखि खारेजसम्मका कारबाही भएका छन्। चिकित्सकले जानजानी लापरबाही गर्दैनन्, तर गल्ती प्रमाणित भयो भने काउन्सिल कठोर हुन्छ।’’

गत नेतृत्व राजनीतिक प्रभावमा चलेको आलोचना बीच डा. शाहले पारदर्शिता बढाउने र नागरिकमा हराउँदै गएको विश्वास पुनःस्थापित गर्ने लक्ष्य राखेका छन्। उनका अनुसार सबै प्रदेशमा लाइसेन्स परीक्षा सञ्चालन, सीपीडी तालिम विस्तार, उजुरी प्रक्रिया छिटो बनाउने तथा गैरचिकित्सकको अवैध अभ्यास रोक्न सरकारी निकायसँग समन्वयमा काम गर्नु अत्यावश्यक छ।

स्वास्थ्य शिक्षा प्रणालीमा उठेका प्रश्न–जस्तै लाइसेन्स परीक्षामा बढ्दो असफलता दर, पुरानो पाठ्यक्रम, र व्यावहारिक सीप परीक्षाको अभाव–बारे शाहले सुधार अपरिहार्य रहेको बताए। ‘‘सैद्धान्तिक मात्र हैन, व्यावहारिक सीप पनि जाँचिनुपर्छ,’’ उनले स्पष्ट पारे।

चिकित्सकको बाहिरिने दर बढिरहेको अवस्थामा डा। शाहले त्यसलाई रोक्ने जिम्मेवारी काउन्सिलको नभई सरकारको रहेको टिप्पणी गरे। ‘‘सेवासुविधा, सुरक्षा र नीतिगत ग्यारेन्टी नहुँदासम्म चिकित्सक विदेशतिरै जानेछन्,’’ उनले भने।

क्यान्सर रोग विशेषज्ञसमेत रहेका डा. शाह बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा कार्यरत छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *