काठमाडौं । जेनजी आन्दोलनपछि टुटेको कांग्रेस–एमाले राजनीतिक दूरी घटाउने संकेत देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्दै आगामी राष्ट्रिय सभा निर्वाचनमा मिलेर अघि बढ्ने प्रस्ताव राखेका छन् ।
शुक्रबार महाराजगञ्जस्थित देउवाको निवासमै पुगेर ओलीले देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक अवस्था, संसद् विघटनपछिको घटनाक्रम र राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको बताइएको छ । औपचारिक रूपमा छलफलको विवरण सार्वजनिक नगरिए पनि ओलीले सहकार्यको प्रस्ताव गरेको एमालेनिकट नेताहरूले बताएका छन् ।
भेटपछि आइतबार कांग्रेसले पनि संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले यसअघि नै यही विषयमा अदालत गएको थियो । दुबै दलले समान खालको कानुनी कदम चाल्नु देउवा–ओली भेटसँग जोडेर हेरिएको छ ।
एमाले अध्यक्ष ओलीको चासो विशेषतः आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट्रिय सभा सदस्यको निर्वाचनमा केन्द्रित रहेको बताइएको छ । माघ ११ गते तय गरिएको निर्वाचनमा एमालेका ८ जना, तत्कालीन माओवादी केन्द्रका ७, एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा र राष्ट्रपतिबाट मनोनीत गरी एक–एक जना सदस्यको अवधि सकिँदैछ ।
एमाले अध्यक्ष ओलीले राष्ट्रिय सभामा कांग्रेससँग मिलेर जाने प्रस्ताव राखे पनि कांग्रेसले तत्काल कुनै निर्णय गरिसकेको छैन । देउवानिकट नेताहरूका अनुसार पार्टीभित्र छलफल नगरी तत्काल सहमति हुने अवस्था छैन ।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रिय सभामा सहकार्य आवश्यक हुन सक्ने संकेत गरेका छन् । उनका अनुसार गठबन्धन नगरी सिट सुरक्षित गर्न कठिन हुने भएकाले संवाद र सम्भावनाका ढोका खुला राखिएको छ ।
यता एमाले नेतृत्व भने अहिले पार्टी महाधिवेशनमै केन्द्रित रहेको बताउँदै आएको छ । मंसिर २७–२९ गते हुने महाधिवेशनपछि मात्रै आगामी राजनीतिक रणनीतिबारे स्पष्ट खाका आउने संकेत गरिएको छ ।
जेनजी आन्दोलनका कारण सत्ता गुमाएका ओली पुनः कांग्रेससँग राजनीतिक सहकार्यको वातावरण बनाउने प्रयासमा देखिएको राजनीतिक वृत्तको विश्लेषण छ । आगामी राष्ट्रिय सभा निर्वाचनले कांग्रेस–एमाले सम्बन्ध कुन दिशामा अघि बढ्छ भन्ने निर्णायक संकेत दिनेछ ।




