राजनीति

नेकपाको सन्देश सभामाथि प्रदीप ज्ञवालीको कडा प्रश्न : सिद्धान्तदेखि नेतृत्वसम्म सात बुँदे आलोचना

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘एकता सन्देश सभा’ लाई लक्षित गर्दै सात बुँदे टिप्पणी सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेकपाको वैचारिक स्पष्टता, राजनीतिक जिम्मेवारी र नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन् ।

ज्ञवालीले दुई दशकसम्म ‘मार्क्सवादको विकासको तेस्रो आयाम’ भनेर स्थापित गरिएको माओवादलाई मार्गदर्शक सिद्धान्तबाट किन हटाइयो भन्नेबारे कुनै स्पष्ट उत्तर नआएको उल्लेख गरेका छन् । पार्टी पहिचानकै रूपमा रहेको ‘माओवादी’ ब्रान्डलाई नामबाट हटाउनुको कारण पनि अझै अस्पष्ट रहेको उनको भनाइ छ । उनले ‘जनयुद्ध’ का नाममा भएको ठूलो मानवीय र भौतिक क्षति तथा त्यसको राजनीतिक विरासत किन अलपत्र पर्‍यो भन्नेमा पनि नेकपाले जवाफ दिन नसकेको टिप्पणी गरेका छन् ।

त्यस्तै, एमालेको आठौँ महाधिवेशनमा जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै प्रस्तुत गरिएका २३ आधार अहिले कहाँ हराए भन्ने प्रश्नसमेत उनले उठाएका छन् । यस सन्दर्भमा उनले नेकपाका वरिष्ठ नेता झलनाथ खनालतर्फ पनि संकेत गरेका छन् ।

ज्ञवालीको टिप्पणीमा नेकपाको भावी कार्यदिशा, वैचारिक रूपरेखा र राजनीतिक बाटोबारे कुनै ठोस बहस नदेखिएको उल्लेख छ । एमसीसीलगायत विषयमा फरक मत राख्ने नेताहरू अहिले कसको एजेन्डामा विलय भए भन्ने प्रश्न पनि उनले राखेका छन् ।

१७ वर्षभन्दा बढी समय शासन सत्तामा रहँदा भएका कमजोरीको जिम्मेवारी नेतृत्वले नलिने तर पछिल्लो संकटको सम्पूर्ण दोष केपी शर्मा ओलीमाथि थोपर्ने प्रयासप्रति पनि ज्ञवालीले आपत्ति जनाएका छन् ।

प्रदेशस्तरमा सञ्चालन भइरहेका सन्देश सभामा ‘गाली पुराण’ जस्तै आलोचना भइरहेको भन्दै उनले राजेन्द्र श्रेष्ठलाई ‘नयाँ पण्डित’ को संज्ञासमेत दिएका छन् । एमालेको सदस्य संख्या घटेको भन्ने दाबीप्रति व्यङ्ग्य गर्दै ज्ञवालीले तथ्यमा आधारित बहस गर्न चुनौती दिएका छन् ।

उनले अन्त्यमा व्यङ्ग्यात्मक शैलीमा भनेका छन्, ‘अरूलाई होच्याएर होइन, आफूलाई बलियो बनाएर राजनीति जितिन्छ । अकबर–वीरबलको कथाजस्तै, अरूको धर्को काट्न होइन, आफ्नो धर्को लामो बनाउन आवश्यक छ।’

  • ‘नेपाली कम्युनिष्ट पार्टी’ को ‘एकता सन्देश सभा’:

  • – दुई दशकसम्म ‘मार्क्सवादको विकासको तेस्रो आयाम’ भनेर दाबी गरिएको ‘माओवाद’ लाई मार्गदर्शक सिद्धान्तबाट र पार्टी पहिचानको रुपमा रहेको ‘माओवादी’ ब्राण्डलाई पार्टीको नामबाट किन परित्याग गर्नु पर् यो ? कुनै स्पष्टीकरण छैन ।

  • – ‘जनयुद्ध’ का नाममा भएको त्यो भयानक क्षति र त्यसको बिरासत किन अलपत्र पर् यो ? कुनै जवाफ छैन ।

  • – जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त हो भनेर पुष्टि गर्न नेकपा (एमाले) को आठौँ महाधिवेशनमा प्रस्तुत गरिएका २३ वटा आधारहरु आज के भए ? तत्कालीन प्रस्तोताको तर्फबाट कुनै तर्कसङ्गत जवाफ छैन ।

  • – अबको कार्यदिशा, बाटो र सैद्धान्तिक रुपरेखा के हो ? कुनै चर्चा छैन ।

  • –एमसिसी लगायत विभिन्न विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने साथीहरु र त्यसलाई पारित गराउन निर्णायक भूमिका खेल्नुहुने मध्ये को कसको अजेण्डामा ‘विलय’ भएको हो ? कुनै प्रत्युत्तर छैन ।

  • – गणतन्त्र स्थापनादेखि भदौ २४ गतेसम्मका कुल १७ वर्ष ३ महिना १० दिन (कुल ६ हजार ३०५ दिन) मध्ये नेतृत्वमा २५४२ दिन ( प्रचण्ड ११५४, बाबुराम ५६२, माधव ६२२ र झलनाथ २०४) र सरकारमा ४१८४ दिनभन्दा बढी सहभागी हुँदाका गुणदोषको कुनै जिम्मा लिनु नपर्ने, तर आजका समग्र सङ्कटको जवाफदेही चैँ १९६१ दिनसम्म नेतृत्व गरेका केपी शर्मा ओलीले लिनु पर्ने हो ? कुनै तर्कसङ्गत अभिव्यक्ति छैन ।

  • – हुँदाहुँदा प्रदेशहरुमा चलेका ‘गाली पुराण‘ मा नयाँ पण्डित थपिनु भएछ, राजेन्द्र श्रेष्ठ । भन्न भ्याउनु भएछ– एमालेको सदस्यता ८ लाखबाट घटेर ३ लाखमा झरेको छ । मानौँ उहाँ केही दिन अगाडिसम्म एमालेको सङ्गठन विभागमा डेटा इन्ट्री गर्ने ‘कम्प्युटर अपरेटर’ हुनुहुन्थ्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *