देश

नेपालगञ्ज–दिल्ली सिधा उडानको माग फेरि उठ्यो, निजी क्षेत्रले सरकारलाई बुझायो ज्ञापन

काठमाडौं । नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सुरु गर्न निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको छ । उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जले अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै सिधा उडानले क्षेत्रीय व्यापार, उद्योग र पर्यटनमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

सङ्घका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि निरन्तर प्रयास हुँदाहुँदै पनि नेपालगञ्ज–दिल्ली सिधा उडान सुरु हुन नसकेको उल्लेख गर्दै अब व्यवहारिक पहल आवश्यक भएको बताए । उनले सिधा उडान सञ्चालनका लागि आवश्यक पूर्वाधारसमेत तयार भइसकेकाले सरकारले नीतिगत तथा कार्यान्वयन तहमा ठोस निर्णय लिनुपर्ने माग गरे।

अर्थमन्त्री खनालले वर्तमान सरकार विशेष परिस्थितिमा गठन भएको उल्लेख गर्दै चाहना हुँदाहुँदै पनि दीर्घकालीन प्रकृतिका निर्णय गर्न कठिनाइ रहेको स्पष्ट पारे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठन हुने र वर्तमान सरकार करिब तीन महिनाको लागि मात्र रहने जानकारी पनि उनले दिए। ‘निर्वाचनलाई असर पार्ने कुनै गतिविधि सरकारले गर्दैन,’ उनले भने।

यसैबीच नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले भन्सार दर घटाउन सरकारलाई आग्रह गर्दै अत्यधिक दरका कारण तस्करी बढेको र त्यसको असर नेपाली व्यवसायीले भोग्नुपरेको बताए।

सङ्घका अध्यक्ष धामीले रुपैडिहा नाकाबाट भइरहेको भन्सार चुहावट नियन्त्रण गर्न पनि सरकारलाई गम्भीर बन्न आग्रह गरे । सङ्घले हवाई उडान, भन्सार, व्यापार सहजीकरण लगायत विभिन्न विषय समेटिएको २१ बुँदे ज्ञापनपत्र सरकारसमक्ष पेश गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *