राजनीति

प्रधानमन्त्रीको सर्वपक्षीय बैठकः सुरक्षाको ग्यारेन्टी गर्न दलहरुद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा बोलाएको सर्वपक्षीय बैठकमा आगामी फागुन २१ को निर्वाचनलाई प्राथमिकता दिइएको छ। बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी थिए।

प्रधानमन्त्री कार्कीले बैठकमा दलका नेताहरूलाई निर्वाचन सफल बनाउन सहयोग गर्न आग्रह गर्दै भनिन्, “हामी निर्वाचन गराउन तत्पर छौँ र नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ। यसका लागि सबै दलसँग सहकार्यको अपेक्षा छ।” बैठक मुख्यत ः निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचनको वातावरण निर्माणमा केन्द्रित थियो।

बैठकमा सहभागी दलहरूमा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, जसपा नेपाल र जनमत पार्टीका प्रतिनिधिहरू रहेका थिए। कांग्रेसबाट महामन्त्री गगन थापा र पुष्पा भुसाल, एमालेबाट शंकर पोखरेल र महेश बर्तौला, नेकपा (नेकपा) बाट प्रकाश ज्वाला, रास्वपा बाट शिशिर खनाल र सोबिता गौतम, राप्रपा बाट राजेन्द्र गुरुङ र भुवन पाठक, जसपा नेपालबाट प्रकाश अधिकारी र जनमत पार्टीबाट नरेन्द्र चौधरी सहभागी थिए।

बैठकमा सबै दलले आफ्ना धारणा राखे। कांग्रेसका गगन थापाले निर्वाचनमा सहयोगका लागि पार्टी तयार भए पनि वातावरण निर्माणमा चुनौती रहेको बताए। रास्वपा नेतृ सोबिता गौतमले सरकारले पूर्ण समर्थन पाएको बताउँदै, निर्धारित समयमा चुनाव गराउनुको विकल्प नभएको उल्लेख गरिन्। एमाले नेता महेश बर्तौलाले सुरक्षा वातावरण र निर्वाचन तयारी पर्याप्त नभएको, साथै सरकारले चुनाव सम्बन्धी स्पष्ट योजना प्रस्तुत नगरेको धारणा राखे।

सुरक्षा निकायका प्रतिनिधिहरूले भने चुनौती भएपनि त्यसलाई व्यवस्थापन गर्न सकिने आश्वासन दिएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *